४ मंसिर २०८१, मंगलबार

अस्पताल जाँदैनन् कोरोना संक्रमित, घरमै उपचार


कोरोना संक्रमित

सुरुङ्गा (झापा) । नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण बिरामी बनेकामध्ये झापाका अधिकांश नागरिकले घरमै घरेलु उपचार गराउने गरेको पाइएको छ ।

आफूलाई कोरोना सङ्क्रमण भएको थाहा हुनासाथ सङ्क्रमितले छुट्टै होम आइसोलेशनमा बसेर बेसार पानी, गुर्जो, अदुवाको रस, पिप्ला, मरिच र तुलसीका पात पकाएर सेवन गर्नुका साथै कागतीको रस एक दुई थोपा नाकमा दिनहुँ हाल्ने गरेको पाइएको हो ।

सास फेर्न समस्या देखिए सकभर घरमै अक्सिजन सिलिण्डर लाने र अक्सिजन सिलिण्डर नपाए मात्रै उपचारका लागि अस्पताल जाने गरेका छन् । गौरीगञ्ज गाउँपालिकामा कोरोनाको दोस्रो भेरियन्टपश्चात् आजसम्म ६० सक्रिय संक्रमित रहेका छन् ।

गाउँपालिकाको स्वास्थ्य शाखा कार्यालयले उपलब्ध गराएको विवरणअनुसार संक्रमितमध्ये ५० जना होम आइसोलेशनमा छन् भने दुई जनाले कोशी अस्पतालमा उपचार गराइरहेका छन् । कूल संक्रमितमध्ये एक जनाको मुत्यु भइसकेको छ ।

दोस्रो भेरियन्ट देखा परेपश्चात् गाउँपालिकाद्वारा १२२ जनाको स्वाव सङ्कलन गरिएको स्वास्थ्य शाखाप्रमुख रामचन्द्र मिश्रले बताए । कोरोना सङ्क्रमित ६० मध्ये सात जना संक्रमणमुक्त भइसकेका छन् । कोरोना रोकथाम तथा नियन्त्रण गर्न गाउँपालिकाले १५ शय्याको आइसोलेशन र ८ वटा अक्सिजन सिलिण्डर तयारी अवस्थामा राखेको छ ।

पचास शय्या क्वारेन्टिन कोरोना संक्रमित बिरामीका लागि तयारी अवस्था राखिए पनि दोस्रो भेरियन्टपछि कोही पनि बिरामी अस्पताल आएका छैनन् । शय्याहरू खाली छन् । बिरामीले घरमै उपचार गराइरहेका छन् ।

गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र मिश्रले नेपाल सरकारको प्रोटोकलअनुसार नै बिरामी होम आइसोलेशनमा बसेको बताउनुभयो । उहाँले होम आइसोलेशनमा बसेका बिरामीहरुसँग नियमित रूपमा स्वास्थ्यकर्मीहरुको सम्पर्क भइरहेको र उनीहरुको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुँदै गरेको जानकारी दिए ।

गौरीगञ्जमा मात्र होइन झापाका हरेक स्थानीय तहका नागरिकले कोरोना सङ्क्रमित भएको खण्डमा घरमै उपचार गराउँदै आएका छन् । सन्तोष आचार्य, पुष्प बराल, वीरबहादुर दर्नाल, गोपाल काफ्ले, पर्वत पोर्तेल लगायतका पत्रकारहरु पनि कोरोना संक्रमणपछि घरमै उपचार गराएर स्वास्थ्यलाभ गरिरहेको नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !