६ बैशाख २०८१, बिहिबार

चीनले दिएको १८ हजार अक्सिजन सिलिण्डर तातोपानीमा, काठमाडौं ल्याउने तयारी


अक्सिजन सिलिण्डर तातोपानीमा

काठमाडौं । नेपाल सरकारको पहलमा चीन सरकारबाट सहयोग प्राप्त १८ हजार अक्सिजन सिलिण्डर तातोपानी नाकामा आइपुगेको छ । उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक (सिसिएमसी) का संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले सामाजिक संजाल फेसबुकमा लेख्दै सो जानकारी दिएका हुन् ।

चीनले दिएका १८ हजार खाली अक्सिजनका सिलिन्डर स्थलमार्ग हुँदै आज नेपाल आइपुगेका हुन् । पाण्डेका अनुसार तातोपानी नाकामा सिलिन्डर चीन सरकारले हस्तान्तरण गरेपछि काठमाडौँ ल्याइनेछ ।

सिलिन्डरको अभाव हुन थालेपछि सरकारले चीन सरकारबाट अनुदानमा २० हजार खाली सिलिन्डर ल्याएको हो । यसअघि ४०० सिलिन्डर नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट ल्याइएको थियो ।

१८ हजार आइसकेपछि बाँकी १६०० सिलिन्डर पनि जहाजबाट ल्याउने तयारी भइरहेको छ । यस्तै आजै चीनबाट ५५० अक्सिजन सिलिन्डर नेपाल वायुसेवा निगमको वाइड बडी विमानले ल्याउँदैछ । शनिबार सिलिन्डर ल्याउनका लागि जहाज चीन गएको थियो ।

शनिबार मात्र ओमानबाट गैआवासीय नेपाली सङ्घका सहयोगमा ५६० खाली सिलिन्डर आएको थियो ।कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि अक्सिजन सिलिन्डरको अभाव हुन थालेपछि सरकारले विभिन्न मुलुकबाट सिलिन्डर ल्याउन थालेको हो ।

कोरोना संक्रमण बढिरहेको र हस्पिटलहरुमा अक्सिजन अभाव भइरहेको सन्दर्भमा सरकारले चीन लगायतका देशबाट अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री आयातलाई प्राथमिकतामा राखेको छ ।

हस्पिटलहरुमा अक्सिजन र बेड अभाव हुन नदिन सिसिएमसी संयोजक पोखरेलको नेतृत्वमा सरोकारवालासँग निरन्तर छलफल भइरहेको पाण्डेले जानकारी दिए ।

कोरोना संक्रमितको उपचार, उपकरण तथा अस्पतालहरुको व्यवस्थापन र चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रोत्साहनमा सरकार केन्द्रित रहेको उपप्रधानमन्त्री पोखरेलले बताए ।

नेपालस्थित चिनियाँ राजदूतावासले दुई दिनअघि सामाजिक संजाल फेसबुकमा लेख्दै चीनले सहयोग स्वरुप दिएको अक्सिजन सिलिन्डरको आगामी केही दिनमा काठमाडौं आइपुग्ने जानकारी दिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !