बैतडी । नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड-१९) संक्रमणको दोस्रो लहर फैलिएका बेला जिल्ला कारागार बैतडीमा क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी हुँदा समस्या भएको छ । जम्मा २५ जनाको क्षमता रहेको जिल्ला कारागारमा हाल ७१ कैदीबन्दी छन् ।
क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कोरोना सङ्क्रमणको जोखिम बढेको कारागारका अनिल तिवारीले जानकारी दिए । कैदीबन्दी बढी हुँदा कोरोना सङ्क्रमणका साथै बसोबास र सुरक्षाको दृष्टिकोणले पनि चुनौती छ । उनले भने, “बस्ने ठाउँको अभावमा त्रिपाल राखेर कैदीबन्दीलाई राखिएको छ । ”
कारागारमा अहिले ३८ कैदी र ३३ थुनुवा छन् । भित्र बस्ने ठाउँ नभएपछि कारागारको आँगनमा त्रिपाल राखेर कैदीबन्दीहरुको बसोबासको व्यवस्था मिलाइएको छ । उनले भने,“ सङ्क्रमणको जोखिम बढ्दै गएको छ तर हालसम्म एकजनामा पनि संक्रमण देखिएको छैन् ।”
कैदी तथा थुनुवालाई भेटघाट गर्न दिँदा सङ्क्रमणको जोखिम हुने भएकोले भेटघाट बन्द गरिएको छ । २०४० सालमा निर्माण गरिएको कारागार भवन पुनःनिर्माण नहुँदा जीर्ण बन्दै गएको छ ।