२६ बैशाख २०८१, बुधबार

भारतबाट आज १० लाख डोज कोरोना खोप नेपाल आउँदै, कसलाई कहिलेदेखि लगाइन्छ त ?


कोभिशिल्ड

काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आज काठमाडौं आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट १:३० को एयर इन्डिया विमानमार्फत खोप १० लाख डोज काठमाडौँ आउन थालेको जानकारी दिएका छन् ।

उनका अनुसार यहि फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमति अनुसार आज आइतबार १० लाख डोज खोप आउन लागेको हो ।

यसअघि गत माघ ८ गते भारत सरकारले अनुदानमा उपलब्ध गराएको सोही खोप आएको थियो । अहिले उक्त खोप अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइँदैछ । मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले खोप विमानस्थलबाट टेकुस्थित चिस्यान केन्द्रमा भण्डारण गरिने छ ।

उक्त खोप यहि फागुन २३ गतेदेखि ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई लगाइने छ । खोप टेकुस्थित चिस्यान केन्द्रबाट प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरिका खोप केन्द्रमा वितरण गरिने उनले बताए ।

उनले सम्झौता अनुसार बाँकी खोप उत्पादक कम्पनीले स्वास्थ्य सेवा विभागले प्रस्ताव गर्ने आपूर्ति तालिका अनुसार चाँडै नै प्राप्त गर्ने जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !