३ मंसिर २०८१, सोमबार

कोभिड-१९ विरुद्धको खोप लिएको व्यक्तिबाट अन्यलाई भाइरस सर्न सक्ने


कोरोना भाइरस विरुद्धको खोप

काठमाडौँ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार कोभिड-१९ विरुद्धको खोप लिइसकेको व्यक्तिबाट पनि अन्यलाई भाइरस सर्न सक्ने भन्दै सतर्क रहन सुझाव दिएका छन् ।

हालसम्म कुनै पनि खोपको प्रभावकारिता शतप्रतिशत नदेखिएकाले खोप लगाइसकेपछि पनि संक्रमण हुँदैन वा आफूबाट अरुलाई सर्दैन भन्नेमा सुनिश्चित नहुने उनको भनाइ छ । खोपको दुबै मात्रा प्राप्त गरेका व्यक्तिलाई पनि पुनः संक्रमण भएको देखिएकाले स्वास्थ्य सावधानी अपनाउनुको विकल्प नभएको डा. सापकोटाले बताए ।

विदेशमा कोरोना भाइरस संक्रमणबाट थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता बेलायतमा तीन जनाको संक्रमणका कारण निधन भएको हो । यो सहित विदेशमा कोरोना सङ्क्रमणका कारण निधन हुने नेपालीको सङ्ख्या ३३० जना पुगेको छ ।

सापकोटाका अनुसार शनिबार साँझसम्म ५० देशमा रहेका ५८ हजार ६९५ नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ५५ हजार ७९३ जना कोरोनामुक्त भएका छन् । यो कूल सङ्क्रमितको ९४ प्रतिशत हो । गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले खोप साक्षरतासम्बन्धी निर्देशिका जारी गरेको छ । आम नेपालीलाई खोपको बारेमा सचेत र सतर्क बनाउने उद्देश्यका साथ जारी यो निर्देशिका सबैले बुझ्ने गरी सरल नेपाली भाषामा छ ।

सो निर्देशिकामा खोप, खोप लगाउँदा, लगाइसकेपछि अपनाउनुपर्ने सावधानी, खोप लगाइसकेपछि देखिनसक्ने सम्भावित असर वा स्वास्थ्य समस्या र त्यसपछिको स्वास्थ्य मापदण्ड लगायतका विषय समेटिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !