१३ बैशाख २०८१, बिहिबार

कोरोना विरुद्धको खोपको आज प्रधानमन्त्री ओलीले गरे शुभारम्भ


कोरोना विरुद्धको खोपको आज प्रधानमन्त्री ओलीले गरे शुभारम्भ

काठमाडौँ । आज कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिएको छ । नेपालमा कोरोना भाइरस संक्रमण सुरु भएको १ वर्षपछि खोप अभियान सुरु भएको हो । नेपालमा पहिलोपटक २०७६ माघ ९ गते चीनको वुहान शहरबाट आएका एक विद्यार्थीमा संक्रमण देखिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बुधबार भर्चुअल माध्यमबाट खोप अभियान शुभारम्भ गरेका हुन् । शुभारम्भ कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठी लगायत मन्त्री सहभागी भएका थिए । उनले कोरोना भाइरसविरुद्धको खोप यथाशीघ्र सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले शुभारम्भ भएसँगै आज सातवटै प्रदेशमा रहेका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृतमा परेका व्यक्तिलाई एकैसाथ खोप दिइनेछ । यस्तै ७७ जिल्लाका ३०० खोप केन्द्रमार्फत पनि खोप प्रदान गरिने छ । ती सबै अस्पतालमा प्रधानमन्त्री ओलीको शुभारम्भ कार्यक्रममा भर्चुअल विधिबाट जोडिएका थिए ।

काठमाडौँमा १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र रहनेछन् । भारत सरकारको अनुदानमा यही माघ ८ गते १० लाख मात्रा उक्त खोप नेपाल आएको हो । स्वास्थ्य मन्त्रालयले पहिलो चरणको खोप अभियान शुरु गरेको १० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ । यस चरणमा ४ लाख ३० हजारलाई खोप प्रदान गरिने छ ।

कोभिशिल्ड खोप अक्सफोर्ड विश्वविद्यालय र एक्ट्राजेनिका नामक औषधि उत्पादक कम्पनीले संयुक्त रूपमा विकास गरेका हुन् । भारतको सेरम इन्स्टिच्युटले खोप उत्पादन गरेको हो । पहिलो चरणका लागि आएको जम्मा १० लाख खोप मध्ये लक्षित वर्गको संख्याका आधारमा सबैभन्दा बढी बागमती प्रदेशका लागि खोप छुट्याइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

खोप फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धााश्रममा रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी तथा कारागारमा रहेका कैदी र सुरक्षाकर्मीले पाउनेछन् ।

स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका निर्देशक डा. झलक शर्मा गौतमले आज ०.५ मिलीलिटर (मिली) मात्रा खोप प्रदान गरिने जानकारी दिनुभयो । त्यसपछि पहिलो खोप लगाएको ४ हप्तापछि अर्को मात्राको खोप दिइने छ । खोप देव्रे पाखुराको माथिल्लो बाहिरी भागमा ९० डिग्री कोण बनाएर (मासुभित्र) दिइने छ ।

खोप लगाएपछि सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुनसक्ने, सामान्य ज्वरो आउने, टाउको दुख्ने, थकाइ र आलस्य महसुस हुने तथा वाकवाक लाग्नेजस्ता समान्य असर देखिने उहाँले बताउनुभयो । खोप ज्वरो आएको वा कोभिड–१९ को लक्षण भएका वा अन्य सक्रिय सङ्क्रमण भएका अवस्थामा र गर्भवती वा सुत्केरी पहिलो खोप लगाउँदा एनाफाइलेक्सिस भएका दोस्रो मात्र नदिने गर्नुपर्दछ ।

लक्षित समूहले मात्र खोप पाएको यकिन गर्नका लागि सम्बन्धित संस्थाले खोप पाउने व्यक्तिको सूची सार्वजनिक गर्ने व्यवस्था पनि सरकारले गरेको छ । खोप केन्द्र रहेको संस्था र स्वास्थ्य कार्यालयका प्रमुखले सूची सार्वजनिक गर्नुपर्ने हुन्छ । साथै खोप लगाउने व्यक्तिलाई परिचय पत्र दिने व्यवस्था गरिएको छ। त्यही परिचय पत्रको आधारमा मन्त्रालयले खोपको दोस्रो मात्रा सम्बन्धित व्यक्तिलाई दिने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !