८ मंसिर २०८१, शनिबार

जर्मनीमा एकैदिनमा २३ हजार कोरोना संक्रमित


जर्मनीमा कोरोना संक्रमित

बर्लिन । जर्मनीमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितहरुको कुल सङ्ख्या नौ लाख भन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार जर्मनीमा अहिलेसम्म कुल नौ लाख दुई हजार ५२८ जना सङ्क्रमित भएका हुन् ।

कोरोनाभाइरसबाट एकैदिनमा संक्रमितको सङ्ख्या भने झण्डै २३ हजार पुगेको अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा जर्मनीमा कुल २२ हजार ९६४ जना संक्रमित भएका छन् ।

जर्मनीमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर एकैदिनमा २५४ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या १३ हजार ८८४ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या अहिलेसम्म पाँच लाख ९३ हजारभन्दा बढी रहेको छ ।

एक दिन अगाडि एकैदिन सङ्क्रमित भएकाहरुको सङ्ख्या २३ हजार ६४८ र मृत्यु भएकाहरुको सङ्ख्या २६० पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनले मार्च ११ देखि विश्वभरी कोरोनाभाइरसको महामारी फैलिएको घोषणा गरेको हो ।

कोरोनाका कारण अहिलेसम्म विश्वभरी पाँच करोड ७९ लाख १५ हजार ५५९ जना सङ्क्रमित भएका छन् भने १३ लाख ७७ हजार ८२६ जनाको मृत्यु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !