९ पुस २०८१, मंगलबार

मोडर्नाले बनाइरहेको कोरोना भाइरस विरुद्धको खोप ९५ प्रतिशत प्रभावकारी


मोडर्नाले बनाइरहेको कोरोना भाइरस विरुद्धको खोप ९५ प्रतिशत प्रभावकारी

एजेन्सी । अमेरिकी बायोटेक कम्पनी मोडर्नाले आज सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरसविरुद्धको आफूले विकास गरिरहेको खोप ९५ प्रतिशत प्रभावकारी देखिएको दाबी गरेको हो । केही दिनअघि फाइजर र बायो एनटेकले संयुक्त रुपमा विकास गरिरहेको खोप कोरोनाविरुद्ध ९० प्रतिशत प्रभावकारी देखिएको बताइएको थियो ।

मोडर्नाले कोरोना विरुद्धको तेस्रो चरणको चिकित्सकीय परीक्षणका उक्त खोप ९४.५ प्रतिशत प्रभावकारी देखिएको बताएको हो । मोडर्नाको परीक्षणमा ३० हजार स्वयंसेवी सहभागी भएको बताइएकोमध्ये आधालाई २८ दिनका अन्तरमा खोपको २ डोज दिइएको थियो भने आधालाई उति नै समयावधिमा प्लेसिबोको २ सट दिइएको थियो ।

कम्पनीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘तेस्रो चरणको परीक्षण अन्तर्गतको अन्तरिम विश्लेषणले हाम्रो खोपले गम्भीर प्रकृतिका रोग सहितका कोरोना बिरामीलाई निको बनाउन सक्छ भन्ने देखिएको छ ।’

मोर्डनाले पनि फाइजर र बायो एनटेकले प्रयोग गरेकै विधि अपनाई कोरोना विरुद्धको खोप बनाइरहेको छ । यो खोप मोलिक्युलमा आधारित छ, जसलाई ‘एमआरएनए’ वा ‘मेसेन्जर आरएनए’ का नामले चिनिन्छ ।

उक्त मोलिक्युलले शरीरको कोशिकाभित्र प्रोटिनको विकासमा सहयोग पुर्याउने अनुसन्धानकर्मीहरुले बताएका छन् । यो प्रविधिमा आधारित खोपले कुनै साइड इफेक्टबिना एन्टिबडीको विकास गरी भाइरसलाई परास्त गर्ने दाबी पनि गरिएको छ । त्यसैले ‘एमआरएनए’ प्रविधिमा आधारित कोरोना विरुद्धका २ खोपको परीक्षण प्रभावकारी देखिनु चिकित्सा क्षेत्रका लागि खुसीको खबर भएको वैज्ञानिकहरु बताउँछन् ।

मोडर्नाले विकास गरिरहेको खोपको सुरक्षित भण्डारण पनि फाइजरको भन्दा फरक रहेको छ । मोडर्नाले आफूले विकास गरिरहेको खोप माइनस ४ डिग्री सेल्सियसको तापक्रममै सुरक्षित रुपमा भण्डार गर्न सकिने दाबी गरेको छ ।

जुन घरमा राखिने फ्रिजमा पनि सम्भव देखिन्छ । तर फाइजरले बनाइरहेको खोप भने माइनस ७० डिग्री सेल्सियसको तापक्रममा भण्डारण गर्नुपर्ने बताइएको छ । दुवै कम्पनीले अमेरिकाको नियमनकारी निकाय खाद्य तथा औषधि प्रशासन(एफडीए) बाट खोपको सुरक्षा र प्रभावकारिताबारे अझै पनि ‘सेफ्टी डेटा’ लिने काम गरिरहेका छन् ।

मोडर्नाले केही हप्तामा एफडीएमा खोपको आपत्कालीन प्रयोगका लागि निवेदन पेस गर्ने बताएको छ । मोडर्नाले विकास गरिरहेको कोरोना खोपको प्रभावकारिता सफल हुनु अत्यन्तै उत्साहजनक कुरा भएको अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फौचीले प्रतिक्रिया दिएका छन् ।

यो पनि पढ्नुहोस्

मोडर्नाले बनाइरहेको कोरोना भाइरस विरुद्धको खोप ९५ प्रतिशत प्रभावकारी

कोरोना विरुद्धको खोपको पहिलो परीक्षण सफल भएको दावी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !