पोखरा, असोज २९ । गण्डकी प्रदेशमा आज बिहान थप ९७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५२८४ जना पुगेको छ ।
स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ६:३० बजे प्रेस बिज्ञप्ति जारी गर्दै ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।
आज बिहान अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ९७ जनामा कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमण पुष्टि हुनेहरुमा कास्कीका ३० जना, गोरखाका ७ जना, नवलपरासी सुस्ता पूर्वका ६ जना, लम्जुङका ३ जना, बाग्लुङका ५१ जना रहेका छन् ।
कास्की जिल्ला, पोखरा महानगरपालिकाका ८ जनाको चरक मेमोरियल अस्पताल, पोखरा र गण्डकी मेडिकल अस्पतालमा कोरोनाको परिक्षणका लागि नमुना संकलन भएको हो । अन्य सबै संक्रमित कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भई रहेको छ ।