काठमाडौँ, असोज २८ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद निरुदेवी पालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सामाजिक संजाल फेसबुकमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिएकी छिन् ।
रुघाखोकी, हल्का ज्वरो र सास फेर्न गाह्रो र जिउ दुखेपछि कोरोना परीक्षणको लागि स्वाब दिएकोमा रिपोर्ट पोजेटिभ आएको उनले बताएकी छिन् । महिला तथा सामाजिक समितिकी सभापति समेत रहेकी उनले कोरोना जितेर आफू छिट्टै काममा फर्कने समेत बताएकी छिन् ।
यो बीचमा आफूसँग सम्पर्कमा आएकालाई सावधानी र सतर्कता अपनाउन उनले अनुरोध गरेकी छिन् । नेपालमा सांसद र मन्त्रीहरुलाई पनि एकपछि अर्कोमा कोरोना संक्रमण देखिदै आएको छ ।