पोखरा, भदौ २८ । गण्डकी प्रदेशमा आज बिहान थप ३२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २९३५ जना पुगेको छ ।
स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ७:५० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।
आज बिहान अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ २४ जनामा कोरोना पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि हुनेहरुमा स्याङ्जामा ४ जना, कास्कीमा २ जना, लम्जुङमा १७ जना र तनहुँमा १ जनामा कोरोना संक्रमण देखिएको हो ।
कोरोना संक्रमण देखिएकाहरुमा स्याङ्जाको पुतलीबजारका ३ जना र बिरुवाका १ जना, लम्जुङको सुन्दरबजार-९ का १६ जना र बेंसिशहर-२ का १ जना, कास्कीको पोखरा महानगरपालिका-१६ की २० वर्षीया महिला र ९ की ७० वर्षीय पुरुष तथा तनहुँको भानु नगरपालिका-४ का ५० वर्षीय पुरुष रहेका छन् ।
आज बिहान अध्यावधिक विवरण अनुसार चितवन मेडिकल कलेज, चितवनमा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ८ जनामा कोरोना पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि हुनेहरुमा पूर्वी नवलपरासीमा ८ जनामा कोरोना संक्रमण देखिएको हो । यसैगरी पूर्वी नवलपरासीको गैंडाकोटमा ६ जना तथा मध्यविन्दु १ जना र हुप्सेकोटका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कास्की जिल्ला, पोखरा महानगरपालिका-१६ का २० बर्षीय महिला पश्चिमान्चल सामुदायिक अस्पताल, पोखरामा कार्यरत कर्मचारी हुन् भने स्याङ्जा जिल्ला, पुतलीबजार-३ का ७६ बर्षीय पुरुष र कास्की जिल्ला पोखरा महानगरपालिका-९ का ७० बर्षीय पुरुष पोखरा महानगरपालिका स्थित मणिपाल अस्पतालमा उपचाररत रहेका छन् ।
लमजुङ जिल्ला, सुन्दरबजार-९ का १६ जना पुरुषहरु नेपाल आर्मीमा कार्यरत रहेका छन् । सबै कोरोना संक्रमित व्यक्तिहरु कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । उनीहरु सवैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भई रहेको छ ।
यो पनि पढ्नुहोस्
गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९०३ पुग्यो