पोखरा, भदौ २७। गण्डकी प्रदेशमा आज बिहान थप ४५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २८६५ जना पुगेको छ ।
स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ११:०० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।
आज बिहान अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ४५ जनामा कोरोना पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टि हुनेहरुमा कास्कीका १० जना, गोरखाका १ जना र नवलपरासी पूर्वका ३४ जना गरी जम्मा ४५ जनामा कोरोना संक्रमण देखिएको हो । सबै कोरोना संक्रमित व्यक्तिहरु कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । उनीहरु सवैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भई रहेको छ ।
दु:खद खवर
कास्की जिल्ला, पोखरा महानगरपालिका-५ का ४५ बर्षीय महिला भदौ २६ गते पोखरा महानगरपालिका स्थित फिस्टेल अस्पतालमा राति १:१५ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोनाको संक्रमणले मृत्यु हुनेको संख्या २४ पुगेको छ ।
यो पनि पढ्नुहोस्
गण्डकी प्रदेशमा थप ६५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७९५ पुग्यो