काठमाडौँ, भदौ २५ । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ५७२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ४९५ जना, ललितपुर जिल्लाका ४३ जना र भक्तपुर जिल्लाका ३४ जनामा कोरोना संक्रमण देखिएको छ । हिजो काठमाडौं उपत्यकामा ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
पछिल्ला दिनहरुमा राजधानी काठमाडौँमा संक्रमितको संख्या बढिरहेको छ । नयाँ कोरोना संक्रमितहरु कुन कुन ठाउँका हुन् भन्ने जानकारी मन्त्रालयले दिएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोना संक्रमणवाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा काठमाडौंकी ५५ वर्षीया महिला तथा ५९ वर्षीय र ८३ वर्षीय पुरुष रहेका छन् ।
यो पनि पढ्नुहोस्