सुर्खेत, भदौ ८ । कर्णाली प्रदेशमा आज दिउसो ५१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २२९५ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुखले आज दिउसो एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।
सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, चौरजहारी नगरपालिका पिसिआर प्रयोगशालामा, रुकुम पश्चिम र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणबाट थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार रुकुम पश्चिमको चौरजहारीको प्रयोगशालामा भएको परीक्षणमा मात्रै ३७ जनामा संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै रुकुम पश्चिमको मुसीकोट नगरपालिका र सानीभेरी गाउँपालिकका १८ जना रहेका छन् ।
यस्तै जाजरकेटको भेरी नगरपालिकामा मात्रै १५ जना नयाँ संक्रमित थपिएका छन । भेरी नगरपालिकाको वडा नं. १,२, ३, ४, ७ र १० मा दुई महिला र १३ जना पुरुषमा संक्रमण देखिएको हो । सो प्रयोगशालामामै गरिएको परीक्षणमा बर्दिया, डडेलधुरा, धादिङ र उदयपुरका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।
साथै सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षणमा ११ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा सुर्खेत, चितवन र कंचनपुरका २/२ जना, सल्यान, कैलाली, सर्लाही, रुपन्देही र बर्दियाका १/१ जना रहेका छ ।
यस्तै सुर्खेतका दुई र सल्यानका १ जना बाहेक अरुकोे बबई नाकामा स्वाब संकलन गरिएको थियो । उनीहरु सवारी चालक र स्थानीय वासिन्दा हुन् । त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा भएको परीक्षणमा कालिकोटका तिलागुफा नगरपालिका ३ जनामा कोरोना पुष्टि भएको महाशाखाले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोभिड-१९ संक्रमणवाट निको भई १९ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १९९२ पुगेको छ भने ६ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कर्णाली प्रदेशमा हाल २९७ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।
यो पनि पढ्नुहोस्
कर्णाली प्रदेशमा थप ४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २२४४ पुग्यो