८ आश्विन २०८१, मंगलबार

वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी श्रीमतीलाई कोरोना संक्रमण पुष्टि


वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी श्रीमतीलाई कोरोना संक्रमण पुष्टि

बाल्टिमोर, साउन २४ । अमेरिकाको बाल्टिमोरमा बस्दै आएका नेपाली मुलका वरिष्ठ लोकगायक प्रेमराजा महतले आफ्नो दम्पत्तिमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टी भएको छ । सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिदै उनले कोरोनाको महामारी कायमै रहेकाले शतर्कता अपनाउन समुदायलाई आग्रह गरेका छन् ।

टाउको दुख्ने र ज्वरो आउने लक्षण देखिएपछि आफूहरु सपरिवारले कोरोना परीक्षण गराएकोमा आफू र श्रीमति कविता केसी महतलाई मात्र संक्रमण पुष्टी भएको उनले जानकारी दिए । अहिले उनीहरुको अवस्था सामान्य रहेको र घरमै आराम गरिरहेका छन् ।

आफूहरुले ध्यान राख्दा राख्दै पनि कोरोना संक्रमण भएको बताउँदै उनले थप सावधानी अपनाउन समुदायलाई अनुरोध गरेका छन् । उनीहरु अहिले आफ्नै घरको फरक कोठामा आईसोलेसनमा छोरा डा. सरगम महतको निरीक्षण र निगरानीमा बसेका छन् ।

यदि हामीले समयमै सतर्कता अपनाएनौ भने विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोनाले हामी कसैलाई पनि अछुतो बनाउनेवाला छैन भनेर उनले आफ्नो धारणा राखेका छन् । यदि हाम्रो परिवार बाहेक यस्तो समस्या कसैमा देखिएको छ भने कृपया कति पनि संकोच नमानिकन यो रोगलाई गोप्य नराखी समुदायलाई सु-सूचित गरौँ समेत उनले आग्रह गरेका छन् ।

इमान्दारिताले गर्दा देश, समुदाय, स्वास्थ्यकर्मी र विश्व स्वास्थ्य संगठनप्रति नै सहयोग पुग्न जाने धारणा उनको छ । आफूहरुको अवस्था सामान्य नै रहेकाले चिन्तित नहुन उहाँले आफ्ना शुभचिन्तकहरुलाई सन्देश दिएका छन् ।

प्रेमराजा महत नेपाल सरकारका तर्फबाट अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि अवैतनिक महावाणिज्यदूत समेत हुन् । उनले बाल्टिमोरमा रेष्टुरेण्ट संचालन गरिरहेका छन् ।

प्रेमराजा महतका गीतहरु पचासको दशकमा सर्वाधिक चर्चित अधिकांश नेपालीको जिब्रोमै झुन्डिएको थियो । उनको नाम ‘बाँझो खेतमा’, ‘सालैको पातैमा’, ‘हिउँचुलीमा हिउँ’ जस्ता सर्वाधिक चर्चित गीतसँगै जोडिएर आउँछ । रिल क्यासेट जमानामा नेपाली लोकगीतका राजा बनेका थिए प्रेमराजा महत ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !