८ आश्विन २०८१, मंगलबार

वीरगञ्जमा सेना, प्रहरी, चिकित्सकसहित १४२ जनामा देखियो कोरोना संक्रमण


कोरोना भाइरस

वीरगञ्ज, साउन २३ । पर्सा जिल्लाको वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा हिजो बिहीबार राति गरिएको परीक्षणमा नेपाली सेना, प्रहरी, चिकित्सक, थुनुवासहित थप १४२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जानकारी दिएको छ । नारायणी अस्पताल स्रोतले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा १२१ जना पुरूषहरु र २१ जना महिलाहरु रहेका छन् ।

कोरोना संक्रमण हुनेहरुमध्ये ४३ जना जिल्ला प्रहरी कार्यालय पर्साका थुनुवा रहेका छन् । वीरगञ्जका मेयर विजयकुमार सरावगीको परिवारका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित हुनेमा १५ वर्षदेखि ७९ वर्ष उमेर समुहका रहेका छन् ।

नारायणी अस्पताल स्रोतका अनुसार थपिएका संक्रमितमा २२ जना महिला छन् । संक्रमितमध्ये ३ जना बारा र ४ जना रौतहटका छन् । २९ जना कन्ट्याक्ट ट्रेसिङमा पत्ता लागेका कोरोना संक्रमितहरु छन् । आर्मी ब्यारेकका थप ५ जनामा कोरोना पुष्टि भएको छ ।

बिहीबार पुष्टि भएका कोरोना संक्रमितमध्ये २८ जना भने वीरगन्ज महानगरपालिका-२८ सिर्सिया, खल्वा टोलाका हुन् । गत साउन १८ मा महानगरपालिकाले उक्त वडामा ‘मास ट्रेसिङ’ गरी स्वाब संकलन गरेको थियो ।

वीरगन्ज-१० अशोकवाटिकामा १० जना र आदर्शनगरमा थप ३ जनामा संक्रमण देखिएको छ । १० संक्रमित वीरगन्जको श्रीपुर र मर्लीका बासिन्दा हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसारे विभिन्न मितिमा पक्राउ परेका थुनुवा र प्रहरीको स्वाब संकलन गर्दा ४३ जना थुनवा र १ जना प्रहरीमा संक्रमण पुष्टि भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !