१२ पुस २०८१, शुक्रबार

विदेशबाट आउने सबैको कोभिड-१९ परीक्षण : मन्त्री ढकाल


भानुभक्त ढकाल

काठमाडौँ, १० साउन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले विदेशबाट आउने सबैको कोभिड–१९ परीक्षण गरिने बताउनुभएको छ । आज मन्त्रालयमा स्वास्थ्य क्षेत्रका विज्ञसँग छलफलमा उहाँले भारतबाट स्वदेश फर्किने नागरिकको सीमा नाकामै स्वाब सङ्कलन गरेर र विमानस्थल हुँदै नेपाल आउने नागरिकको होल्डिङ सेन्टरमा राखेर पाँच दिनपछि स्वाब सङ्कलन गरेर कोरोना परीक्षणको काम भैरहेको जानकारी दिनुभयो ।

मन्त्री ढकालले सरकारले कोरोना रोकथाम र नियन्त्रणमा चालेका प्रयास विज्ञहरूको सल्लाह र सुझावमै भइरहेको बताउनुभयो । उहाँले विज्ञहरूबाट सकारात्मक सुझाव र हौसला पाइरहेको बताउँदै यतिखेर सरकारको काममा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले बन्दाबन्दी खुलेको यस समयमा जनस्वास्थ्य मापदण्ड पालनाका लागि सबैले आआफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताउनुभयो । मन्त्री ढकालले स्वास्थ्यसँग सम्बन्धित सूचना र जानकारी सबैले पाउने गरी व्यवस्थापन गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

छलफलमा विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि डा जोस भ्यान्डेलरले नेपालमा कोरोना समुदायमा नफैलिएको बताउनुभयो । उहाँले खास ठाउँमा देखिएको सङ्क्रमणलाई समुदायको भन्न नमिल्ने भन्दै अहिलेसम्म सरकारले कोरोना नियन्त्रणमा गरेको प्रयास सराहनीय रहेको बताउनुभयो । विकसित देशको भन्दा राम्रोसँग कोरोनाको नियन्त्रण गर्न नेपाल सरकार सफल रहेको भन्दै जोखिम बढ्न नदिन अझै सतर्कता अपनाउनुपर्ने बताउनुभयो ।

छलफलमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान् कोइरालाले विदेशबाट आएका सबैमा कोरोना परीक्षण गर्नुपर्नेमा जोड दिनुभयो । सङ्क्रामक रोग विशेषज्ञ डा अनुप सुवेदीले स्वास्थ्यकर्मी र अस्पतालमा सङ्क्रमण हुनबाट जोगाउनुपर्ने बताउनुभयो । जनस्वास्थ्य विद् डा सुजन मरहठ्ठाले कोरोनाको व्यापकता अझै फैलिने सम्भवना रहेको भन्दै यससँग सम्बन्धित थप अध्ययन र अनुसन्धानमा जोड दिनुभयो ।

नेपाल मेडिकल एसोसिएनका अध्यक्ष डा लोचन कार्कीले स्वास्थ्यकर्मीलाई अहिलेको महामारीबाट जोगाउनका लागि विशेष ध्यान दिनुपर्ने बताउनुभयो । भाइरोलोजिष्ट डा समिरमणि दीक्षितले कोरोना भाइरसको डर कम गर्न नमूनाहरूको परीक्षण बढाउनुपर्ने र अणुवांशिक (जिन सिक्वेन्सिङ) गरेर वास्तविक अवस्था पत्ता लगाउन केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का लागि पर्याप्त नमूना दिएर सहयोग गर्नुपर्ने बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !