६ जेष्ठ २०८१, आइतबार

नेपाल एयरलाइन्सका ३ पाइलटसहित ७ जनामा कोरोना संक्रमण पुष्टि


वाइडबडी

काठमाडौं, असार २२ । नेपाल एयरलाइन्सका ३ पाइलटसहित ७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । एयरलाइन्स स्रोतका अनुसार विभिन्न उद्धार उडानमा खटिएका ३ जना पाइलटमा कोरोना संक्रमण पुष्टि भएको हो भने अन्य ४ जना एयरलाइन्समा कार्यरत उडान कर्मचारी रहेका छन् ।

एयरलाइन्स स्रोतका अनुसार सोल्टी होटलमा क्वारेन्टिनमा रहेका उनीहरूमा संक्रमण पुष्टि भएको हो । साथै एयरलाइन्सको स्रोतका अनुसार अरु ७ जनाको पनि पहिलो पिसिआर परीक्षणमा पनि रिपोर्ट पोजेटिभ आएको र क्रस भेरिफिकेसनको नतिजा आउन बाँकी रहेको छ।

क्वारेन्टिनमा रहेपनि पाइलट लगायत उडान कर्मचारीहरूले एयरलाइन्सको वार्षिकोत्सवमा केक काटेर रमाइलो गरेको खुलेको छ। त्यसैले त्यहाँ सहभागी सबै व्यक्तिहरू कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । एयरलाइन्सले आफ्ना पाइलट र उडान कर्मचारीलाई राख्न सोल्टी होटलमा ७५ वटा कोठा बुक गरेको छ।

यस्तै ४ क्रु मेम्बर र केही कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको एयरलाइन्स स्रोतले जनाएको छ । सरकारले नेपाल एयरलाइन्सबाट तेस्रो मुलुकमा रहेका नेपालीलाई उद्दार गर्दै आएको छ । यसअघि पनि हिमालय एयरलाइन्सका एक पाइलटसहित २ जनामा संक्रमण देखिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !