१२ आश्विन २०८१, शनिबार

वैज्ञानिकहरूका अनुसार हावाबाट पनि कोरोना भाइरस सर्न सक्ने दाबी


कोभिड-१९

एजेन्सी, असार २२ । केही वैज्ञानिकहरूले गरेको अनुसन्धानवाट हावाका साना कणमा पुगेका कोरोना भाइरस (कोभिड-१९) बाट पनि मानिसमा संक्रमण हुन सक्ने दाबी गर्दै विश्व स्वास्थ्य संगठनलाई कोरोना भाइरस सम्बन्धी निर्देशिका संशोधन गर्न आग्रह गरेको विवरण न्यूयोर्क टाइम्सले प्रकाशित गरेको छ ।

कोरोना भाइरसबारे अनुसन्धान गरिरहेका विभिन्न ३२ देशका २३९ वैज्ञानिकहरूले यसबारे विश्व स्वास्थ्य संगठनलाई खुलापत्र पठाएर त्यस्तो माग गरेका हुन् । उनीहरूले उक्त पत्रमा आफूले फेला पारेका प्रमाणहरू उल्लेख गरेका छन् ।

ती वैज्ञानिकहरू आफ्नो अनुसन्धान चाँडै एउटा वैज्ञानिक जर्नलमा प्रकाशित गर्ने योजनामा भएको न्यूयोर्क टाइम्सले जनाएको छ। विश्व स्वास्थ्य संगठनकाअनुसार कोरोना भाइरस संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्किने छिटाबाट अर्को व्यक्तिमा सर्छ । जुन २९ मा अद्यावधिक गरिएको जानकारीमा उसले ५ माइक्रोनभन्दा साना छिटा बने हावाको माध्यमबाट पनि कोरोना भाइरस सर्न सक्ने जनाएको छ ।

न्यूयोर्क टाइम्सका अनुसार वैज्ञानिकहरूले हाछ्युँ गर्दा निस्किने साना वा ठूला ड्र्प्लेट अर्थात् छिटा हावामा केही परसम्म फैलिन सक्ने भएकाले कोरोना भाइरसको संक्रमण हुनसक्ने दाबी गरेका छन् । तर विश्व स्वास्थ्य सङ्गठनका अनुसार अहिले उपलब्ध प्रमाणहरू त्यो दाबी पुष्टि गर्न पर्याप्त छैनन् ।

विश्व स्वास्थ्य संगठनको कोरोनाभाइरस संक्रमण नियन्त्रण गर्ने विभागकी प्रमुख प्राविधिक डा. बेनेडेटा अलेन्ग्रान्जीलाई न्यूयोर्क टाइम्सलाई हावाको माध्यमबाट फैलिन सक्ने सम्भावनाबारे आफूहरूले विगत २ महिनादेखि विचार गरेको बताइन् । तर ठोस वा स्पष्ट प्रमाणका आधारमा नभई यसबारे ठूलो विवाद रहेको उनले बताइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !