६ जेष्ठ २०८१, आइतबार

स्वास्थ्य मन्त्रालयको प्रक्षेपण : साउन मसान्तसम्म संक्रमित संख्या नेपालमा ४० हजार र उपत्यकामा ५ हजार पुग्ने


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

काठमाडौँ, असार २२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउनको अन्तिमसम्म नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ४० हजार पुग्ने प्रक्षेपण गरेको छ । जसमध्ये काठमाडौं उपत्यकामा ५ हजार संक्रमित हुने मन्त्रालयको अनुमान छ ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार साउनको अन्तिमसम्म देशभर ४० हजार संक्रमित पुग्ने अनुमान गरिएको छ भने काठमाडौं उपत्यकामा मात्र ५ भागको १ भाग अथवा ५ हजार पुग्न सक्नेछ । नेपालमा हिजो आइतबारसम्मको तथ्यांक अनुसार देशभर कोरोना संक्रमितको संख्या १५४९१ छ । जसमा काठमाडौं उपत्यकाका १३७ जना रहेका छन् ।

अहिले पनि काठमाडौं उपत्यकामा ११७ जना बढी कोरोनाको ‘एक्टिभ केस’ छ । उनीहरूको उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । टेकु अस्पतालमा मात्र ३५ जना संक्रमितको उपचार भइरहेको छ ।

इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार संक्रमितमध्ये अधिकांश विदेशबाट आएका छन् । साथै कतै नगएका व्यक्ति अर्थात् ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिमा पनि संक्रमण देखिएको छ । यसले गर्दा उपत्यकामा थप संक्रमण बढ्ने देखिन्छ । मन्त्रालयले समेत उपत्यकामा संक्रमण बढी रहेको हुनसक्ने भन्दै परीक्षणको दायरा बढाउन लागेको छ ।

प्रवक्ता डा. गौतमका अनुसार उपत्यकाको बढी भीडभाड हुने ठाउँ, अस्पतालहरूको आकस्मिक कक्ष, आइसियूमा रहेका बिरामी, बैंकको काउन्टरमा रहेका व्यक्तिहरूको परीक्षण गर्न लागिएको छ । साथै क्यान्सर, मधुमेहका बिरामीहरूको पनि परीक्षण गर्ने भनिएको छ ।

हालसम्म उपत्यकामा ठूलो संख्यामा परीक्षण गरिएको छैन । यसअघि कालिमाटी तरकारी बजार, सरसफाइमा काम गर्ने व्यक्ति र जनप्रतिनिधि गरेर झण्डै १५ हजार व्यक्तिको परीक्षण गरिएको थियो । त्यसमा पनि आधा व्यक्तिको मात्र पिसिआर विधिबाट परीक्षण भएको थियो भने बाँकीको भने र्‍यापिड टेस्ट गरिएको थियो ।

अहिले भने संक्रमित संख्या बढ्दै गएको भन्दै मन्त्रालयले उपत्यकामा परीक्षण दायरा बढाउने तयारी गरेको छ । रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले उपत्यकामा कतै नगएको १२ जना व्यक्तिमा संक्रमण देखिएको भन्दै त्यस्ता व्यक्तिको वरिपरि रहेका व्यक्तिहरूको परीक्षण गर्ने तयारी गरिएको जनाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !