५ मंसिर २०८१, बुधबार

आरडिटी पोजेटिभ देखाएको भन्दै स्वास्थ्यकर्मीमाथि ढुङगामुढा प्रहार


आरडिटी पोजेटिभ

बाजुरा, २ असार । जिल्लाको हिमाली गाउँपालिका-५ कवाडीको क्वारेन्टिनमा बसेकाहरुले आरडिटी गर्न गएका स्वास्थ्यकर्मीमाथि ढुङ्गामुढा प्रहार गरेका छन् । भारतलगायत विभिन्न स्थानबाट घर फर्किएर वडा नं ५ को क्वारेन्टिनमा बसिरहेका उनीहरुले आरडिटी रिपोर्ट पोजेटिभ आएपछि स्वास्थ्यकर्मीमाथि ढुङ्गामुढा प्रहार गरेका हुन् ।

उनीहरु क्वारेन्टिनमा बसेको १४ दिन पूरा भएपछि सोमबार दिउँसो गाउँपालिकाका स्वास्थ्य संयोजक राजबहादुर भण्डारी आफैँ आरडिटी गर्न पुग्नुभएको थियो । केही व्यक्तिको आरडिटी गरिसकेपछि एक महिलाको आरडिटी रिपोर्ट पोजेटिभ आयो । ती महिलाको आरडिटी रिपोर्ट पोजेटिभ आएपछि क्वारेन्टिनमा बसिरहेका उनीहरुले ‘तैँले किन आरडिटी रिपोर्ट पोजेटिभ निकालिस्’ भन्दै स्वास्थ्यकर्मीमाथि नै ढुङ्गामुढा प्रहार गर्न थाले । उनीहरुले प्रहार गरेको दुङ्गा लागेर स्वास्थ्य संयोजक भण्डारी घाइते हुनुभएको छ ।

स्वास्थ्यकर्मी भण्डारीको छातीमा गम्भीर चोट लागेपछि अहिले प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भइरहेको प्राथमिक स्वास्थ्य केन्द्रका कोभिड–१९ रोकथाम तथा नियन्त्रण समिति सम्पर्क व्यक्ति ओमजङ्ग शाहीले जानकारी दिनुभयो । स्वास्थ्य संयोजक भण्डारीको छातिमा नीलडाम परेको र उहाँ बोल्न सक्ने स्थितिमा नभएको शाहीले बताउनुभयो ।

कोरोना भाइरसको जोखिम उच्च रहेका बेला क्वारेन्टिनमा बसेकाबाटै स्वास्थ्यकर्मीमाथि ढुङ्गामुढा प्रहार भएकोप्रति खेद प्रकट गर्दै गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले उनीहरुलाई कानूनबमोजिम कारवाही गरिने बताउनुभयो । हिमाली गाउँपालिका जस्तो दुर्गम ठाउँमा स्वास्थ्यकर्मी नै नपाइने अवस्थामा स्थानीयवासीले गरेको यस्तो व्यवहारप्रति आफू दुःखित भएको उहाँको प्रतिक्रिया छ ।

यता जिल्ला प्रहरी कार्यालय बाजुराले पनि घटनामा संलग्नलाई आवश्यक कारवाहीका लागि स्थानीय प्रहरी प्रशासनलाई निर्देशन दिएको जनाएको छ । हिमाली गाउँपालिकामा विभिन्न तीन स्थानमा गरिएको परीक्षणमा सोमबार तीन जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !