काठमाडौँ, २५ वैशाख । कोभिड–१९ का सम्भावित सङ्क्रमितको उपचारका लागि नेपाली सेनाले छाउनीस्थित श्री वीरेन्द्र अस्पतालमा सम्पूर्ण तयारी पूरा गरेको छ ।
सम्भावित बिरामीको पहिचान, परीक्षण, आइसोलेसनसहित चिकित्सकको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने सङ्क्रमितको उपचारमा गर्नुपर्ने तयारी पूरा गरेको हो । छाउनीस्थित अस्पताल प्रवेशदेखि नै उच्च सतर्कताका साथ उपचार गर्ने व्यवस्था मिलाइएको छ ।
अस्पताल प्रवेश गर्नुअघि प्रवेशद्वारमा दुईवटा स्वचालित धारा जडान गरिएको छ । जहाँ पानी खोल्न र बन्द गर्न हातले छुनुपर्ने छैन । यसअघिदेखि नै अनिवार्यरूपमा साबुनपानीले हात धोएर मात्र अस्पतालमा प्रवेश गर्ने व्यवस्था मिलाइएको छ । हात धोएर अस्पताल प्रवेश गर्नेको प्रवेशद्वारमा नै ‘थर्मलगन’द्वारा तापक्रम नाप्ने प्रबन्ध मिलाइएको छ । “बिरामी तथा सेनाका कर्मचारी प्रवेश गर्ने भएकाले प्रवेशद्वारमा उच्च सावधानी अपनाइएको छ”, अस्पतालका महासेनानी डा सुनिता पन्तले भन्नुभयो, “ज्वरो आएका बिरामीलाई प्रवेशद्वारसँगैको ‘फिवर क्लिनिक’मा पठाइन्छ, अन्य व्यक्तिले हरक्षण मास्क लगाउनुपर्ने छ ।”
सरकारको निर्देशनअनुसार नै फिवर क्लिनिक सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । फिवर क्लिनिकमा मेडिकल अफिसर बस्ने व्यवस्था मिलाइएको छ । मेडिकल अफिसरले सम्बन्धित बिरामीको ‘डाइग्नोष्टिक’ गर्छन् । बिरामीको यात्रा विवरण, कोभिड–१९ सङ्क्रमितसँग सम्पर्क, लक्षणलगायत कुनै दीर्घरोग भए÷नभएको जानकारी लिने, बिरामीको तापक्रम र पल्स नाप्ने छन् ।
यदि कुनै बिरामीलाई कोभिड–१९ सङ्क्रमण भएको शङ्का लागेमा क्लिनिकसँगै रहेको ‘स्वाब बुथ’ बाट स्वाब झिक्ने र परीक्षणका लागि पठाउने व्यवस्था मिलाइएको छ । छाउनी अस्पताललाई उक्त स्वाब बुथ राष्ट्रिय आविष्कार केन्द्रले उपलब्ध गराएइको हो । शङ्कास्पद बिरामीलाई अस्पताल परिसरमा बनाइएको आइसोलेसन वार्डमा भर्ना गरिन्छ ।
सेनाले जिओओपिडी सञ्चालन गर्ने उद्देश्यले निर्माण गरेको भवनलाई तत्कालका लागि कोभिड–१९ का बिरामीको उपचार गर्ने गरी रुपान्तरण गरेको छ । “सैनिक अस्पताल तत्कालका लागि कोभिड–१९ डेडिकेटेड अस्पताल नभए पनि भविष्यमा आवश्यक परेको खण्डमा सञ्चालनमा ल्याउन सक्ने गरी १०० श्यया तयारी अवस्थामा राखेका छौँ”,उहाँले भन्नुभयो, “जसमध्ये ८० सामान्य श्यया र २० श्यया गम्भीर बिरामीका लागि छुट्याएका छौँ ।” उक्त भवन सेनाको कल्याणकारी कोषबाट निर्माण गरिएको हो ।
जहाँ १०० श्ययाका आइसोलेसन वार्ड रहेको छ । तीमध्ये २० श्यया जटिल अवस्थाका बिरामीका लागि हाइकेयर युनिटका रूपमा राखिएको छ । आइसोलेनस वार्डमा बिरामी प्रवेश गर्ने र चिकित्सक प्रवेश गर्ने अलगअलग बनाइएको छ । मेडिकल टिम आइसोलेसन वार्डमा जाँदा व्यक्तिगत सुरक्षा उपकरण लगाएर मात्र भित्र जाने व्यवस्था गरिएको छ । बिरामीसँग प्रत्यक्ष भेट गरेपछि बाहिर आउँदा अत्यन्त सुरक्षित साथ पिपिइ फुकाल्नुपर्ने भएकाले प्रवेश गर्ने र निस्कने दुई थरी मार्ग प्रयोगमा ल्याइएको महासेनानी डा पन्तले जानकारी दिनुभयो ।
यसैगरी बिरामीलाई औषधि, खाना, पानी तथा आवश्यक सुझाव दिने ‘कन्ट्रोल रुम’ बनाइएको छ । जहाँबाटै रोबोटको माध्यमबाट बिरामीको स्वास्थ्य अवस्थाका बारेमा चिकित्सकले जानकारी लिनेछन् । रोबोटले नै बिरामीलाई खाना र पानी पु¥याउनेछ । उक्त रोबोट पनि राष्ट्रिय आविष्कार केन्द्रले नै उपलब्ध गराएको हो । रोबोटमा क्यामेरा र माइक जोडिएको छ । कन्ट्रोल रुमबाट चिकित्सकले बिरामीसँग भिडियो संवाद गर्ने व्यवस्था मिलाइएको छ । बिरामी र चिकित्सकबीच संवाद गर्ने, थर्मोमिटर तथा पल्स मिटरमार्फत बिरामीको स्वास्थ्यवस्था परीक्षण गर्ने र बिरामीलाई खाना, खाजा तथा पानी सहज उपलब्ध गराउने प्रयोजनका लागि रोबोट प्रयोग गर्ने सेनाको भनाइ छ ।
२० श्ययाको आइसीयू निर्माण
सरकारको निर्देशनअनुसार सेनाले छाउनी अस्पताल परिसरको एक भवनमा २० श्ययाको आइसीयूकक्ष निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ । करिब एक साताको अवधिमा उक्त आइसीयूकक्ष निर्माण गरिएको सेनाले जनाएको छ ।
आइसीयू सेवा सञ्चालन गर्न आवश्यक जनशक्तिलाई छाउनीमै तालिम दिइएको छ । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानसँग समन्वय गरेर उनीहरुलाई तालिमको व्यवस्था गरिएको हो । संस्थानका डा जयन्द्र बज्राचार्यले उनीहरुलाई सहजीकरण गरिरहनुभएको छ । फिल्डमा जाने तथा अस्पतालमा कार्यरत जनशक्तिलाई कोभिड–१९ पूर्वतयारीका बारेमा जानकारी दिइएको उहाँले जानकारी दिनुभयो ।
“हामीले उनीहरुलाई ‘ह्याण्ड हाइजिन’, पिपिइ लगाउन तथा फुकाल्ने तरिका, डिसइन्फेक्सन तथा कोभिड–१९ ले मृत्यु भएका व्यक्तिको शवको व्यवस्थापनका बारेमा सिकाइरहेका छौँ”, डा बज्राचार्यले भन्नुभयो, “कोभिड–१९ आइसीयूमा कार्यरत स्वास्थ्यकर्मीलाई के–कस्तो किसिमले बिरामीको उपचार गर्ने भन्ने सन्दर्भमा ‘बेसिक लाइफ सपोर्ट’, ‘एडभान्स कार्डियाक लाइफ सपोर्ट’का काम कसरी गर्नुपर्छ भन्ने कुरा सिकाउँदै छौँ ।”