६ जेष्ठ २०८१, आइतबार

भारतबाट फर्कंनेका लागि सहायता कक्ष


डोटी, ७ चैत । जिल्लाका चार स्थानमा कोभिड–१९ को जोखिमबाट सतर्कता अपनाउन स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ । यहाँका चार स्थानीय तहका नागरिक कामका लागि प्राय छिमेकी मुलुक भारतका विभिन्न शहरमा गएका कारण अहिले उनीहरु घरफर्कंन थालेपछि ती स्थानीयतहका प्रमुख केन्द्रमा उक्त स्वास्थ्य परीक्षण कक्ष अर्थात् स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोभिड–१९ को सम्भावित जोखिम न्यूनीकरणका लागि सूचना सामग्रीसहित जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजारमा रहेको शैलेश्वरी अस्पतालमा, जोरायल गाउँपालिका–२ स्थित बुडरस्थित छतिवन स्वास्थ्य चौकीमा, आर्दश गाउँपालिका–३ मौवा नगरदहमा रहेको मौवा स्वास्थ्य चौकीमा र जिल्ला अस्पताल डोटीमा कोरोना जोखिम न्यूनीकरणका लागि सहायता कक्ष स्थापना गरिएको छ ।

सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने एक मात्र प्रमुख राजमार्गको मुख्य केन्द्रबिन्दु बुडर बजारमा छतिवन स्वास्थ्य चौकी छ । उक्त स्वास्थ्य चौकीमा कोभिड–१९ को जोखिमबाट सतर्कता अपनाउन २४ घण्टा स्वास्थ्यकर्मीसहितको स्वास्थ्य परीक्षण कक्ष स्थापना गरिएको जिल्ला स्वास्थ्य व्यवास्थापन समितिका डोटीका अध्यक्ष यज्ञराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “बुडर सुदूरपश्चिम प्रदेशका पहाडी सातै जिल्लाको सेन्टर प्वाइन्ट भएको र नागरिकको चहलपहल पनि बढी हुने भएकाले बुडरमा पनि कोरोना भाइरस जाँच स्वास्थ्य केन्द्र खोलेका छौँ, भारतबाट आउनेको स्वास्थ्य जाँच गर्दैछौँ ।” जोरायल गाउँपालिकाको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालय डोटीको सहकार्यमा उक्त स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । उक्त स्वास्थ्य परीक्षण कक्षमा भारतबाट आउने नागरिक तथा यात्रुको स्वास्थ्य परीक्षण गरिने भएको छ ।

उक्त कक्षमा चौबिसै घण्टा दुई जना स्वास्थ्यकर्मीले यात्रुलाई कोरोनासम्बन्धी परामर्श प्रदान गर्ने र शङ्का लागेका यात्रुको जाँच गरी बिरामी भएको पुष्टि भए उपचारका लागि सम्बन्धित क्षेत्रमा पठाइने व्यवस्था मिलाएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जानकारी दिनुभयो ।

त्यसैगरी जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लाका सबै स्वास्थ्य संस्थामा आइसोलेसन कक्षको व्यवस्था गर्ने, गर्मीको समयमा हुनसक्ने आगलागी, चट्याङजस्ता घटनाबाट बच्न पूर्वतयारी गर्ने, क्वारेन्टाइनका लागि जमीन र भवनको व्यवस्थापन गर्ने, सबै स्थानीय तहमा हेलिप्याडको निर्माण गर्ने, औषधि, खाद्यान्न अभाव हुन नदिन सञ्चय गरेर राख्न उद्योग वाणिज्य सङ्घ र चेम्बर अफ कमर्शलाई व्यवस्थापन गर्ने जिम्मेवारी दिने, कालोबजारी नियन्त्रण गर्न नियमित बजार अनुगमन गर्ने, स्थानीय तहले कोरोना भाइरसको सङ्क्रमण हुन नदिनका लागि सचेतनामूलक कार्यक्रम गरिने योजना बनाएको प्रजिअ पौडेलले जानकारी दिनुभयो । उता कोभिड–१९ को सङ्क्रमण जिल्लामा नआओस् भन्दै सुदूरपश्चिमको उत्कृष्ट तथा प्रशिद्ध शक्तिपीठ शैलेश्वरी मन्दिरमा भाकलसमेत गरिएको छ ।

जिल्लावासी धार्मिक आस्थाप्रति विश्वास राख्ने तथा भगवान्ले भक्तजनको मनोकामना तथा भाकल पूरा गर्ने भएकाले कोरोना भाइरसको सङ्क्रमण जिल्लामा फैलन नदिन शैलेश्वरी मातासँग भाकल गरिएको शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष तथा पुजारी प्रेमशङ्कर भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना आउन नलिन हामीले शैलेश्वरी मातासँग भाकल गरेका छौँ, सायद सङ्क्रमण हाम्रो जिल्लामा आउने छैन ।” उहाँका अनुसार कोराना भाइरस सङ्क्रमण नहोस् भन्नका लागि आउँदो नयाँ वर्षको वैशाख महिनासम्ममा शैलेश्वरी मन्दिरमा दैनिक क्षमा पूजासमेत गरिनेछ । शेलेश्वरी मन्दिरमा गरिएको भागलका लागि यहाँका स्थानीयतहले पनि सहयोग गर्ने भएका छन् । सुदूरपश्चिम प्रदेशसँग सिमाना जोडिएको छिमेकी मुलुक भारतको उत्तरप्रदेशमा कोरोनाका संक्रमित देखिएपछि उक्त रोग सुदूरपश्चिममा पनि फैलिन सक्ने भन्दै यहाँका स्थानीयमा त्रास फैलिएको छ ।

मास्कसहित उपभोग्य वस्तु अभाव

पछिल्लो केही दिनयतादेखि मास्कलगायत अन्य दैनिक उपभोग्य वस्तुको अभाव देखिएको छ । कोभिड– १९ का कारण बजारमा मास्कलगायत अन्य दैनिक उपभोग्य वस्तु खोज्नेको सङ्ख्या बढेको भए पनि बजारमा मास्क नपाइने भएपछि स्थानीयवासीलाई समस्या हुँदै आएको छ । जिल्लामा रहेका अस्पताल तथा निजी मेडिकलमा समेत मास्क नपाउन थालेपछि स्थानीयलाई समस्या भएको दिपायल पिपल्लाका व्यापारी गणेश बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बजारमा मास्क छैन, अस्पतालमा समेत मास्क पाउन छोडेपछि समस्या भएको छ ।” अहिले यहाँका प्रमुख बजार पिपल्ला, दिपायल, राजपुर तथा सिलगढीमा मास्क पाउनै मुस्किल हुन थालेको स्थानीयवासीको गुनासो छ ।

जिल्लाका विभिन्न अस्पतालमा आइसोलेसन कक्षा राखेको भए पनि जिल्लामा सामान्य मास्कको समेत अभाव देखिँदै आएको छ । त्यस्तै दिपायलमा रहेको नेपाल प्रहरीको सुदूरपश्चिम क्षेत्रीय प्रहरी अस्पतालमा समेत मास्क अभाव भएको बताइएको छ । बजारभरिमा मास्क नपाएका कारण मास्क उपलब्ध गराउने ठेकेदारले मास्क उपलब्ध नगराउँदा समस्या हुँदै आएको सो अस्पतालका डा बबिता गजमेरले जानकारी दिनुभयो । पछिल्लो समय मास्कको माग अत्यधिक बढेकाले फार्मेसीमा समेत मास्क आउँन छाडेको दिपायल राजपुरका महाकाली पोलिकिल्निकका पदम महराले बताउनुभयो । उहाँले भन्नुभयो, “कोभिड–१९ का कारण बजारमा मास्कको ठूलो माग छ तर मास्कनै आउदैन हामीले कहाँबाट दिनु ।” जिल्लामा पुरानो स्टक मास्क सकिएपछि मास्क नै पाउन मुस्किल भएको फार्मेसी सञ्चालक बताउँछन् ।

डोटीमा मास्क मात्रै नभएर खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव हुन थालेको स्थानीय उपभोक्ताको आरोप छ । सुदूरपश्चिम प्रदेशसँग सिमाना जोडिएको छिमेकी मुलुक भारतको उत्तर प्रदेशममा कोभिड–१९ फैलिएपछि सिमानाका बन्द हुने भएका कारण ग्यास नपाउने डरले यहाँका ठूला व्यापारी, होटल तथा केही स्थानीयले अग्रिम ग्यास खरिद गरेपछि बजारमा ग्यासको अभाव देखिएको स्थानीय व्यापारी हर्कबहादुर बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कोरोनाका कारण सिमानाका बन्द हुँदै छन्, ग्यासलगायतका सामग्री नआउने भन्दै सबैले धमाधम ग्यास लुकाउन थालेका छन्, गरिखाने वर्गलाई समस्या हुन थालेको छ ।” उता डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बजारमा मास्क र खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव गरेको पाइए कारवाही गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले बजारमा अनुगमनको तयारी गरेका छौँ, ग्यास र मास्कको कृत्रिम भाव गर्नेलाई कारवाही हुनेछ ।” सीमानाका बन्द हुने डरले दैनिक उपभोग्यका सामग्रीको अभाव हुनुका साथै मूल्यसमेत वृद्धि भएको छ ।

त्यस्तै जिल्लामा दैनिक उपभोग्य वस्तुको दोब्बर तरिकाले मूल्यवृद्धि भइरहेको स्थानीय उपभोक्त बताउँछन् । जिल्लामा कैलाली तथा कञ्चनपुरबाट मास्कलगायतका अन्य उपभोग्य सामग्री आउने भएको र यसपटक कैलाली कञ्चनपुरमै मास्क र अन्य वस्तुको अभाव भएका कारण मास्कलगायतका सामग्री आपूर्ति गर्नमा समस्या हुँदै आएको डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनबहादुर कलेलले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा कैलाली र कञ्चनपुरबाट मास्कलगायतका अन्य सामग्री आयात हुने गर्दछ, कैलाली र कञ्चनपुरमै नपाइदा समस्या भएको हो ।” यहाँका स्थानीय सरकारसँग समन्वय गरेर स्थानीय तहमै मास्क उत्पादन गर्ने प्रबन्ध मिलाउन समन्वय गर्नुपर्ने उहाँको भनाइ छ । यतिमात्र नभई यहाँका स्थानीय तहअन्तर्गत रहेका स्वास्थ्य संस्था, स्वास्थ्य चौकीमा समेत मास्कको अभाव देखिएको बताइएको छ । कोरोना सङ्क्रमणले विश्वव्यापी रुप लिँदै गर्दा डोटीलगायत सुदूरपश्चिमका अन्य पहाडी जिल्लामा समेत मास्कको अभाव देखिएको स्थानीयको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !