२ जेष्ठ २०८१, बुधबार

गर्भवती भन्छन् : जीवनमा पहिलोपटक भिडियो एक्स-रे गरियो


गर्भवती

जाजरकोट, २२ फागुन । आर्थिक अवस्था कमजोर भई स्वास्थ्य संस्था आउन नसक्ने गर्भवतीका लागि गाउँगाउँमा निःशुल्क भिडियो एक्स-रे सेवा सुरु गरिएको छ । भेरी नगरपालिकाले स्वास्थ्य संस्था आउन नसक्ने गर्भवतीलाई गर्भजाँच गर्न निःशुल्क भिडियो एक्स-रे सेवा सुरु गरेको हो । भिडियो एक्स–रे गरी गर्भजाँच गर्ने अधिकांश महिलाले जीवनमा पहिलोपटक भिडियो एक्स–रे गरेको बताएका छन् ।

भेरी–११ कट्टी गाउँकी रमिता कामीले भन्नुभयो, “भिडियो एक्स-रे कस्तो हुन्छ भन्ने थाहा थिएन, अहिले पहिलोपटक गाउँमै आफँैले सेवा लिएर थाहा पाए, हामीसँग पैसा नभएका कारण भिडियो एक्स-रे गर्ने चाहना हुँदाहुँदै पनि घरमा बस्नु परेको थियो ।” उहाँ जस्तै अर्की तुली विक अहिले दोस्रोपटक गर्भजाँच गर्न जगतिपुर स्वास्थ्य चौकीमा आउनुभएको छ । “पहिलोपटक जाँच नगरी छोरीको जन्म दिए, अहिले नगरपालिकाले भिडियो एक्स–रे गर्दैछ भन्ने सुनेर भिडियो एक्स-रे गर्न आए”, उहाँले भन्नुभयो, “यो वर्षदेखि नियमित गर्भजाँचदेखि भिडियो एक्स–रेसम्म गर्न पाइयो, असाध्यै खुशी लागेको छ ।”

अहिले नगरपालिकाले १४ वटै वडामा गर्भवतीको स्वास्थ्य परीक्षणका साथै भिडियो एक्स–रे सेवा गर्दै आएको छ । सुरक्षित मातृत्व कायम गरी नवजात शिशुको मृत्युदर घटाउन यो अभियान चालिएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताउनुभयो । पैसाको अभावमा कोही गर्भवतीको स्वास्थ्य जाँच गर्न समस्या नहोस् भनी नगरपालिकाले यस्ता खालका कार्यक्रम गर्दै आएको उहाँको भनाइ छ ।

नगर प्रवक्ता पार्वती विक भन्नुहुन्छ, “आमा र शिशुको पोषण सुधार गर्नका लागि गर्भवतीका लागि निःशुल्क भिडियो एक्स–रे सेवा सञ्चालन गर्दै गर्दा हाम्रो बीचमा डरलाग्दो बालविवाहको दृश्यसमेत देखिएको छ ।” गर्भवती जाँच गराउने अधिकांश १६ वर्ष देखि २० वर्ष मुनिका रहेका जाँचमा संलग्न चिकित्सक भुपेन्द्रप्रकाश मल्लले जानकारी दिनुभयो ।

बालविवाह न्यूनीकरणको अभियान चलाइरहँदा गाउँगाउँमा बालविवाहको अवस्था झन् डरलाग्दो भएको पाइएको चिकित्सक मल्लको भनाइ छ । गाउँमा सुत्केरी हुने मध्ये अधिकांश महिला नियमित गर्भजाँच नगराउने तर समस्या परेको बेला मात्र स्वास्थ्य संस्थाको मुख ताक्ने अवस्था रहेको स्वास्थ्यकर्मीको भनाइ छ ।

आर्थिक रुपमा सबल भएका परिवारले मात्र भिडियो एक्स–रेको पहुँचमा रहेका समेत पाइएको छ । एक पटक भिडियो एक्स–रे गर्न जाँदा र आउँदा मात्र रु पाँच हजारभन्दा बढी खर्च हुने वडा नं १० कालाभुरकी रामकली पुनले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !