७ मंसिर २०८१, शुक्रबार

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल भर्ना


प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल भर्ना

९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि त्रिभुवन विश्‍वविद्यालय शिक्षण अस्पताल महाराजगञ्‍ज भर्ना भएका छन् । ओली सोमबार बेलुका सवा ६ बजे अस्पताल पुगेका हुन् ।

प्रधानमन्त्री ओलीको पर्सी फागुन २१ गते बुधबार मिर्गौला प्रत्यारोपण हुँदैछ। प्रधानमन्त्री ओलीलाई भान्जीले मिर्गौला दिनेछिन् । उनी पनि सोमबार नै अस्पताल भर्ना भइसकेकी छन् ।

मिर्गौला प्रत्यारोपणका लागि अस्पतालका विशेषज्ञसहित विशेष टोली खटिने भएको छ। मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालकै युरोलोजी तथा ट्रान्सप्लान्ट वरिष्ठ सर्जन डा. प्रेमराज ज्ञवालीको नेतृत्वको टिमले गर्ने भएको छ।

युरोलोजी डिपार्टमेन्टका अन्य चार सर्जन पनि टोलीमा सहभागी हुनेछन्। मिर्गौला त्रिवि शिक्षण अस्पतालकै प्रत्यारोपणमा युरोलोजी र नेफ्रोलोजी विभागको टिमको संलग्नता रहने गरी तयारी गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

नेफ्रोलोजी विभाग प्रमुखमा डा. दिव्यासिंह शाह छन् । उनको टिममा डा. महेश सिग्देल, डा.मुकुन्द काफ्ले लगायत छन् । युरोलोजीमा प्रा. डा. उत्तम शर्मा, डा. ज्ञवाली, डा.भोजराज लुइँटेल, डा. पवन चालिसे कार्यरत छन्।

प्रधानमन्त्री ओलीले भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा २०६४ सालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गराएका थिए। पुन : स्वास्थ्यमा समस्या देखिएपछि ओली उपचारका लागि गत भदौ ५ गते सिंगापुर गएका थिए । त्यहाँ उनले ‘प्लाज्माफेरेसिस’ गराएका थिए।

अस्पताल भर्ना जानुअघि भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले पुनः मिर्गौला प्रत्यारोपणपछि थप उर्जा र र आत्मविश्वास लिएर काममा फर्किने विश्वास व्यक्त गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !