२० असार २०८१, बिहिबार

गर्भावस्थाका समस्या र उपचार


pregnant woman

 

राम ठकुरी
राम ठकुरी

महिलाहरुलाई गर्भावस्थामा विभिन्न प्रकारका समस्याहरु देखा पर्न सक्छ। वाकवाकी लाग्ने, खाना पचाउन गाह्रो हुने आदि भएमा खानामा बोसोयुक्त चिल्लो पदार्थाको मात्रा घटाउनु पर्दछ। कागती रस चाट्नु उत्तम हुन्छ। घरमै बनाउन सकिने अदुवा पानि वा दालचिनी पानि खाना अघि तिन चार पटक सम्म थोरै-थोरै पिउनु पर्दछ। शरीरमा पानीको मात्रा कम हुन दिनु हुँदैन। झोल पदार्थामा मासुको सुप, गेडागुडीको सुप खाइरहनु उपयुक्त हुन्छ।

गर्भावस्थामा आइपर्ने केहि समस्या र तिनको समाधान तल प्रस्तुत गरिएको छ।

 

अमिलो पानि वा अजीर्ण

मुखमा अमिको पानि आउँदा सोडापानी वा   एन्टासिड  ले राम्रो गर्दछ। पेट खालि राख्नु हुँदैन।मसला, चिल्लो, पिरो, कम गरि पटक पटक खाइरहनु पर्दछ। दुध, दहि, खाँदा त्यति हानि हुँदैन। खाने बितिकै पल्टिनु हुँदैन। पेट भन्दा टाउको माथि हुने गरि अग्लो तकिया राखी सुत्नु पर्दछ।

यौनिश्राव

गर्भावस्थामा यौनिवाट केहि सेतोपानी बग्नु सामान्य हो तर त्यस्तो पानि चिलाउने, पोल्ने, गन्हाउने भएमा संक्रमण भएको हुन सक्छ। यौनीमा र्याल, पानि वा रगत देखिएमा महिना नपुगी शिशु जन्मन लागेको खतराको संकेत भएकोले चित्किसको परामर्श लिनु पर्दछ।

नशा फुल्नु वा सुन्निनु ( भेरीकोसिटी)

गर्भावस्थामा पिडौला एवं योनी वरिपरी देखिने निला नशाहरु फुल्न सक्छन। गर्भमा रहेको शिशुको तौलको दबाबले गर्दा एस्तो भएको हो। यस्तो स्थितिमा गह्रौ काम गर्नु हुँदैन। धेरै बेर उभिनु हुँदैन तर हल्का हिडडुल गर्ने र खुट्टा चलाउनु पर्दछ। गोडा अग्लो ठाउंमा आड दिएर बस्दा पनि राम्रो हुन्छ। गोडा ज्यादै फुलेमा घुँडादेखि गोलीगाठा सम्म पट्टि बाँध्नु पर्छ। माथिको भन्दा तलको बंधाई कसिली हुनु पर्दछ तर सुत्दा पट्टि फुकाएर सुत्नु पर्दछ।

कब्जियत

यस्तो बेलामा आइरन चक्की खाइने हुँदा कब्जियत हुन् सक्छ र यदि कब्जियत भएको छ भने प्रसस्त पानि पिउनु पर्छ र नियमित हल्का ब्यायाम गर्नु पर्दछ। खानामा फलफुल र रेसायुक्त तरकारी समाबेस गराउनु पर्छ।

हर्सा ( पाइल्स )

दिसा गर्ने ठाँउको वरिपरी नसा फुल्ने वा साँघुरो हुने अवस्था नै पाइल्स हो। यस्तो हुँदा चर्याउने, पोल्ने वा रक्तश्राव पनि हुन सक्छ। पीडाबाट राहत पाउनको लागि घुँडा वा कुहिनो टेकी घोप्टो परि बस्दा आराम हुन्छ। बाटामा चिसो पानि राखी बस्दा पनि आराम हुन्छ।

कम्मर दुख्ने

पाठेघरभित्र शिशुको तौल बढ्दै जाँदा कम्मर दुख्ने सक्छ। यस्तो भएमा हातले टेक्दै घुडा दोबारेर घोप्टिने, ढाडलाई माथि उठाउने, फेरी ढाड सिधा पारेर उही अवस्थामा घोप्टिएर कसरत गर्दा फाइदा हुन्छ। साथै उभिदा ढाड सिधा राख्ने, कोल्टे परेर सुत्दा घुडामा सिरानी राखेर सुतेमा पनि फाइदा हुन्छ।

पिडौला बाउडीने

खानामा क्याल्सियम वा पोषक तत्वको कमि भएमा खुट्टा तन्काउँदा  एस्तो समस्या आउछ। यस्तोमा डाक्टरले दिएको क्याल्सियम चक्की लगायत माछा, मासु, दुध, हरियो सागसब्जी, दाल एबं गेडागुडी मिलाएर खानु पर्दछ। यदी पिडुला बाउडीएमा कुर्कुच्चालाई भुइमा राखी औला माथि फर्काउनु पर्दछ।

हात खुट्टा सुन्निनु

दिनभरी उभिएर काम गर्नु पर्ने महिलालाई यस्तो समस्या आउछ। यस्तोमा गोडा नझुंडाइ थकाइ मार्दा देब्रे कोल्टे परेर ढल्कनु  पर्छ।

जोखिमपूर्ण समस्या

सुत्केरिमा रगतको कमि हुनु, चिनी रोग लाग्नु, उच्च रक्तचाप हुनु र सत्र बर्ष भन्दा कलिला आमाहरुले विशेष सावधानी अपनाउनु पर्छ। यस्तो बेलामा बेहोस हुने, शिशु अड्कने बढी रक्तश्राव हुने समस्या आउन सक्छ र बच्चालाइ अप्रेसन गरि निकाल्नु पर्ने अवस्था पनि हुन सक्छ। आमा र शिशुको स्वास्थ्यको लागि  गर्भावस्थामा कम्तिमा पाँचपटक दक्ष चिकित्सकको परामर्श लिनु राम्रो हुन्छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !