८ मंसिर २०८१, शनिबार

भरतपुर अस्पताललाई जग्गाको अभाव


Bharatpur Hospital

नारायण अधिकारी चितवन, २२ जेठ । भरतपुर अस्पतालको नाममा रहेको जग्गा बाँड्दै गएपछि अहिले गुरुयोजनाअनुरुप काम गर्न अस्पताललाई नै जग्गाको अभाव देखिएको छ ।

अस्पतालको नाममा रहेको ३० बिगाहा ११ कट्ठा ६ धुर जग्गा बाँड्दा बाँड्दै अस्पतालसँग अहिले १० बिगाहा जग्गा मात्र बाँकी रहेको छ । गुरुयोजनाअनुरुप काम गर्न अस्पताललाई कम्तीमा १५ बिगाहा जमीन आवश्यक पर्छ । अस्पतालले २० बिगाहाभन्दा बढी जमीन निजी, गैरसरकारी र सरकारी संस्थालाई भोगचलन गर्न दिइएको छ । कतिपयले अस्पताललाई न्यून भाडा तिर्दै आएका छन् भने कतिले उपभोग मात्र गरेका छन् । अस्पतालका अनुसार यहाँको सबैभन्दा बढी नौ बिगाहा कलेज अफ मेडिकल साइन्सेजले न्यूनतम भाडामा प्रयोग गर्दै आएको छ । कलेजले वार्षिक रुपमा प्रतिबिगाहा रु एक लाख तिर्ने भए पनि लामो समयदेखि बक्यौता रहेको अस्पतालले जनाएको छ ।

त्यसैगरी स्कूल अफ हेल्थ साइन्सले ६ बिगाहा १९ कट्ठा १० धुर, भरतपुर आँखा अस्पतालले तीन बिगाहा १७ कट्ठा १० धुर, साझा औषधि पसलले एक कट्ठा १० धुर, रक्तसञ्चार केन्द्रले दुई कट्ठा १० धुर र जिल्ला जनस्वास्थ्य कार्यालयले १० कट्ठा १० धुर जग्गा उपभोग गर्दै आएका छन् । मेडिकल कलेजसँगै साझाले न्यूनतम भाडा तिरेको छ भने अन्यले उपभोग मात्रै गर्दै आएका छन् ।

भरतपुर अस्पताललाई मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गर्न निर्माण गर्नुपर्ने पूर्वाधारका लागि जग्गाको अभाव हुने अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा विश्ववन्धु बगालेले बताउनुभयो । मदन भण्डारी ट्रमा सेन्टर, बहिरङ्ग सेवा र शैक्षिक कार्यक्रम सञ्चालनका लागि र प्रशासनीक भवन निर्माणका लागि अस्पतालसँग जमीन पर्याप्त छैन ।

भरतपुर अस्पतालको नाममा रहेको जग्गा निःशुल्क वा सशुल्क रुपमा प्रयोग गरिरहेका सङ्घसंस्थाहरुसँग बाँकी बचेको जमीन अस्पतालले उपयोग गर्ने गरी अस्पतालले गुरुयोजना निर्माण गरेको हो । अस्पतालमा स्वाथ्य सेवा प्रवाह गर्ने क्षेत्र, शैक्षिक कार्यक्रम सञ्चालन गर्ने क्षेत्र र आवास क्षेत्र गरी तीन भागमा बाँडेर गुरुयोजना तयार गरिएको अस्पतालका पूर्वमेडिकल सुपरिटेण्डेण्ट डा रुद्रप्रसाद मरासिनीले बताउनुभयो । भरतपुर अस्पताललाई एक हजार श्ययाको अस्पताल बनाउने लक्ष्य छ । जसका लागि १५ बिगाहा जमीन चाहिने उहाँको भनाइ छ ।

अस्पताल विकास समितिका पूर्वअध्यक्षसमेत रहनुभएका प्रदेशसभा सदस्य विजय सुवेदीले अन्य सङ्घसंस्थालाई दिइएको जग्गा आवश्यकता र उपयोगिताका आधारमा पुनः व्यवस्थापन गर्नुपर्ने सुझाउ दिनुभयो । उहाँले अस्पतालले जग्गा पाउँदा सेवाका लागि पाएको भन्दै व्यवसायका लागि प्रयोग हुन नहुने बताउनुभयो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट बगालेले केन्द्रीय अस्पताल भइसकेपछि यसले दिने सेवासुविधा बढ्ने भएकाले सर्वदलीय सहमतिका आधारमा अस्पतालको गुरुयोजनाअनुसार काम गर्न आवश्यक पर्ने जग्गा प्राप्ति गर्नुपर्छ भन्नुभयो । भर्खर मात्र अस्पतालको नेतृत्वको जिम्मेवारी पाउनुभएका बगालेले जग्गाको समग्र अवस्थाका बारेमा आफूले बुझेर सुझावसल्लाहअनुसार अघि बढ्ने जानकारी दिनुभयो ।

अस्पतालमा बिरामीको बढ्दो चाप रहेकाले यसलाई व्यवस्थित गर्नका लागि गुरुयोजनाअनुसारका कामलाई तीव्रता दिनुपर्ने उहाँको भनाइ छ । विसं २०१३ मा एउटा छाप्रोमा १५ श्ययाबाट शुरु भएको भरतपुर अस्पतालले केन्द्रीय बनेसँगै ५०० श्ययाको अनुमति पाए पनि अस्पतालमा ६०० श्यया सञ्चालनमा छ । हाल अस्पतालले १४ वटा विभागमार्फत सेवा दिइँदै आएको छ । दैनिक एक हजार ५०० सम्म बिरामीले यहाँ उपचार सेवा लिँदै आएका छन् । चितवन, मकवानपुर, नवलपरासी, धादिङ, गोरखा, लम्जुङ, तनहुँलगायतका जिल्लाबाट उपचारका लागि यहाँ बिरामी आउने गर्दछन् । यो अस्पतालबाट वार्षिक रुपमा दुई लाखभन्दा बढी बिरामीले सेवा लिने गरेका छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !