३ असार २०८१, सोमबार

एक वडा : एक स्वास्थ्य केन्द्र


अस्पताल

दमौली, २१ जेठ । तनहुँको व्यास नगरपालिकाको छ वडामा स्वास्थ्य केन्द्र स्थापना हुने भएको छ । यसअघि स्वास्थ्य संस्था नभएका ठाउँमा नयाँ सो केन्द्र स्थापना हुन लागेको हो ।

व्यास नगरपालिकाको वडा नं १, २, ४, ५, ७ र १० मा नयाँ स्वास्थ्य केन्द्र स्थापनाको तयारी अन्तिम चरणमा पुगेको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । जनतामा उपचारको पहँुच विस्तारका लागि स्वास्थ्य संस्था नभएका वडामा पहिलो चरणमा भवनसमेत निर्माण गरी सेवा प्रदान गर्न लागिएको उल्लेख गर्दै उहाँले स्वास्थ्यचौकी स्थापना र कर्मचारी राख्नका लागि स्वास्थ्य मन्त्रालयले बजेट उपलब्ध गराउने भएको जानकारी दिनुभयो ।

व्यास नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरिशचन्द्र न्यौपानेले पनि नगर कार्यपालिकाको बैठकले ठाउँको टुङ्गो लगाउने तर ठाउँ नभएसम्म तत्कालका लागि कोठा भाडामा समेत लिएर केन्द्र सञ्चालन गर्न सकिने बताउनुभयो ।

स्वास्थ्य केन्द्र सञ्चालनका लागि नगरपालिकाले स्वास्थ्य सहायकका साथै दुई, स्टाफ नर्स दुई, अहेव चार, अनमी चार र कार्यालय सहयोगी छ जनाको माग गरी विज्ञापन प्रकाशित गरेको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिनुभयो ।

वडामा रहेको जनसङ्ख्याको आधारमा स्वास्थ्यचौकी पहिलो र दोस्रो गरी वर्गीकरण गरिएको छ । सोही आधारमा पहिलोका लागि रू ६३ लाख ४६ हजार र दोस्रोका लागि रू. ३८ लाख ८६ हजार भवन निर्माणका लागि उपलब्ध गराइने भएको छ । सरकारले आर्थिक वर्ष २०७५÷७६ को बजेटमा समेत दुई वर्षभित्र स्वास्थ्य संस्था नभएका वडामा न्यूनतम एक स्वास्थ्य संस्था स्थापना गर्ने निर्णय गरेको थियो ।

व्यास नगरपालिकाले पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौलीस्थित भोर्लेटारचोकमा सार्वजनिक शौचालय निर्माणको प्रक्रियासमेत अगाडि बढाएको छ । गण्डकी प्रदेश सरकारको रु १० लाख सहयोगमा सार्वजनिक शौचालय निर्माण गर्न लागिएको हो । नगरप्रमुख न्यौपानेले शौचालय निर्माणका लागि सार्वजनिक जग्गा खोजी भइरहेको जानकारी दिनुभयो । त्यस्तै नगरपालिकाको नयाँ नगरस्तरीय पुस्तकालय भवन निर्माण पूरा हुन लागेको समेत उहाँले जानकारी दिनुभयो ।

अष्ट्रेलियालीद्वारा स्वयंसेवा

अष्ट्रेलियन नागरिक स्टेफेनी हार्डरले व्यास नगरपालिकामा स्वयंसेवा शुरु गर्नुभएको छ । अष्ट्रेलियन स्वयंसेवा संस्थामा आबद्ध हार्डरले व्यास नगरपालिकामा गत सातादेखि स्वयंसेवा शुरु गर्नुभएको हो ।

नेपालका विभिन्न स्थानमा स्वयंसेवा प्रदान गर्दै आइरहेको उक्त संस्थामा आबद्ध हार्डरले नगरपालिकाको शहरी विकासका योजनाबारे काम गर्ने व्यास नगरपालिकाका प्रमुख न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाले निर्माण गरिरहेको दीर्घकालीन विकास योजनामा समेत हार्डरले सहयोग गर्नुहुनेछ ।

नगरप्रमुख न्यौपानेले अहिलेको संरचनाअनुरुप विगतका गाउँ विकास समितिका विभिन्न भाग नगरपालिकामा समेटिएकाले नगर र ग्रामीण भागको विकासलाई समान तरिकाले अगाडि बढाइ पूर्वाधार विकासमा समेत संस्थाको तर्फबाट महत्वपूर्ण सहयोग रहने बताउनुभयो ।

अष्ट्रेलियन स्वयंसेवक कार्यक्रमका नेपालस्थित संयोजक राजेन्द्र खड्काले स्वयंसेवा गर्न लागिएको संस्थासँग समन्वयात्मक रुपमा काम गर्न सकिए अपेक्षित प्रतिफल हासिल गर्न सकिने जानकारी दिनुभयो । उक्त संस्थाले सन् १९९७ देखि नेपालका विभिन्न भागमा स्वयंसेवा सेवा प्रदान गर्दै आइरहेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !