१५ आश्विन २०८१, मंगलबार

समाचार प्रभाव : अनौठो रोगले थलिएका युवालाई नगरपालिकाको सहयोग


moneyy

२२ चैत, खोटाङ । अनौठो रोगले थलिएर बसेका खोटाङ नेर्पास्थित रामपुरका चार विश्वकर्मा युवकयुवतीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उपचार खर्चवापत आर्थिक सहयोग उपलब्ध गराएको छ ।

कम्मरमुनिको भाग नचल्ने रोगले बुबा वीरबहादुर र आमा लक्ष्मीमाया विश्वकर्माका दुई छोरीको मृत्यु हुनुका साथै तीन छोरी र एक छोरा थला परेर बसेको समाचार सार्वजनिक भएपछि नगरप्रमुख दीपनारायण रिजालको नेतृत्वमा गएको टोलीले बिहीबार पीडित परिवारको घरमै पुगेर उपचार खर्चवापत रु ५० हजार आर्थिक सहयोग गरेको हो ।

तीस वर्षीया माइली छोरी कोपिला, २२ वर्षीया जन्तरी अनिशा, २० वर्षीया लखन्तरी मनिषा र कक्षा–९ मा अध्ययनरत कान्छा छोरा चेतराज विश्वकर्माको कम्मरमुनिको भाग नचल्ने रोगले थला परेर बसेको समाचार राष्ट्रिय समाचार समितिमार्फत विभिन्न सञ्चार माध्यममा प्रकाशन तथा प्रसारण भएपछि नगरपालिकाको टोलीले उपचार खर्चसहित पीडित परिवारको घरमा पुगेर उनीहरुलाई भेटेको हो ।

उपप्रमुख विणादेवी राई, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, नगर कार्यपालिकाका सदस्य, स्वास्थ्यकर्मी, पत्रकारलगायतको टोलीले उनीहरुलाई उपचार खर्च उपलब्ध गराउनुका साथै घरमै पुगेर अपाङ्गता परिचयपत्रसमेत वितरण गरेको छ ।

घरमै पुगेर पीडित परिवारलाई भेटेपछि नगरप्रमुख रिजालले नगरपालिकाको तर्फबाट थप उपचार तथा जीविकोपार्जनमा सहयोग गर्ने आश्वासन दिनुभएको छ । उहाँले पीडित विश्वकर्मा परिवारलाई सकेको सहयोग गर्न सबैसँग आग्रह गर्नुभयो । तेह्र छोराछोरी जन्मिएका विश्वकर्मा परिवारमा चार छोराछोरीको मृत्यु भइसकेको छ । बाइस वर्षको उमेरमा साइँली शर्मिला र २५ वर्षको उमेरमा काइँली उषाको कम्मरमुनिको भाग नचल्ने रोगकै कारण निधन भएको हो ।

निम्न आर्थिक अवस्था भएका विश्वकर्मा परिवारमा अहिले पाँच छोरी र चार छोरा छन् । दुईको सानै उमेरमा मृत्यु भएको बताइएको छ । पाँच छोरीमा जेठी छोरी सङ्गीता र कान्छी छोरी अस्मिता तथा छोरा जेठा राजेन्द्र, माइला इन्द्रकुमार र साइँला कृष्ण विश्वकर्मामा अहिलेसम्म रोग देखापरेको छैन । सङ्गीता विवाह गरेर पराइ घर गइसकेकी छिन् । कान्छी छोरी अहिले कक्षा ५ मा पढ्दैछिन् ।

विश्वकर्मा परिवारमा यस्तो अनौठो रोगको समस्या माइली छोरी कोपिलाबाट शुरुआत भएको स्थानीयवासी तथा जनता आधारभूत विद्यालय नेर्पाका प्रधानाध्यापक झमप्रसाद आचार्यले बताउनुभयो । “शुरुमा सपाङ्ग नै विद्यालय आउँथे ।” उहाँले भन्नुभयो, “पढाइमा पनि अब्बल नै हुन्थे । विस्तारै ५÷६ कक्षा पुगेपछि त्यस्तो समस्या देखिन थालेपछि विद्यालय छाडेर बस्ने गरेका छन् ।”

हिँड्ने क्रममा खुट्टा नलाग्ने, लाटिएर ढल्ने, भनेको समयमा भनेको ठाउँमा खुट्टा नपुग्ने, खुट्टाले टेक्न नमान्ने समस्याले कोपिला त थला नै बसिसकेकी छिन् । उनलाई कक्षा ५ पढ्दादेखि उक्त समस्या शुरु भएको आमा लक्ष्मीमायाले बताउनुभयो ।

बाल्यकालमा अरु जस्तै सपाङ्ग जीवन बिताइरहेकी कोपिलालाई अहिले शौचालय लैजान तथा एक स्थानबाट अर्को स्थानमा लैजान आमाले बोक्नुपर्छ । कोपिला विद्यालय जाँदा लडेको र त्यसपछि उनको विस्तारै कम्मरमुनिको अङ्ग चल्न छाडेको जनाइएको छ ।

कम्मरमुनिको भाग नचल्ने समस्या कोपिलामा शुरु भएको १२ वर्ष पुगेको बुबा वीरबहादुरले बताउनुभयो । “यही समस्या अन्य छोराछोरीमा पनि सर्दै गएको छ ।” उहाँले भन्नुभयो, “आर्थिक समस्याले उपचार गर्न बाहिर लैजान नसक्दा थप दुई छोरीको पनि अवस्था जटिल बन्दै गएको छ ।”

अनिशा र मनिषाले एसइईसम्मको अध्ययन पूरा गरेका छन् । अनिशामा कम्मरमुनिको अङ्ग नचल्ने समास्या देखिएको पाँच वर्ष भयो । सोही समस्या मनिषामा देखापरेको दुई वर्ष भयो । अनिशा, मनिषा र कोपिलालाई अहिले आमाले नै डोहो¥याएर घर भित्र÷बाहिर गराउनुका साथै शौचालय लानुपर्ने बाध्यता छ । बोल्न, खान र बस्न सक्ने अवस्थाका उनीहरुको हेरचाह वृद्धा आमाले गर्नुपर्छ ।

कान्छा छोरा चेतराज पनि अहिले सहज तरिकाले हिँडडुल गर्न सक्दैनन् । हिँड्दा उनको खुट्टाले भर दिन्न, काम्ने, लरबराउनेजस्ता लक्षण देखापरेको छ । उनलाई कम्मरमुनिको भाग चलाएर हिँड्न धेरै सकस हुन्छ । उनमा यो समस्या देखापरेको डेढ वर्ष भएको जनाइएको छ ।

माइली छोरीबाट शुरु भएको कम्मरमुनिको भाग नचल्ने समस्या विस्तारै उनीहरुको परिवारका सबै सदस्यमा देखिने सम्भावना रहेको छिमेकी बताउँछन् । खेतीपातीबाहेक आयस्रोतको अन्य विकल्प नभएको विश्वकर्मा परिवारमा एक्कासि उक्त समस्या देखापरेपछि अहिले बिचल्ली भएको छ । उनीहरुमा देखिएको समस्याको उपचार नेपालमा सम्भव नहुने स्वास्थ्यकर्मीले बताएको आफन्त तथा नगर कार्यपालिका सदस्य गङ्गाबहादुर विश्वकर्माले बताउनुभयो । भारतको गङ्गाराम अस्पतालमा मात्र उपचार हुने उनीहरुका लागि प्रतिव्यक्ति रु आठ लाख लाग्ने बताएपछि झनै समस्या भएको जनाइएको छ ।

अहिलेसम्म राज्यको तर्फबाट कुनै सुविधा नपाएका पीडित विश्वकर्मा परिवारलाई नेपाली साझा मञ्चकी कार्यवाहक अध्यक्ष शारदा भुसालले नगद रु १० हजारसहित लत्ताकपडा उपलब्ध गराउनुभएको थियो । पीडित परिवारको घरमै पुगेर नगद तथा लत्ताकपडा उपलब्ध गराउनुभएकी भुसालले यसअघि मनिषालाई नेपालमा हुने सम्पूर्ण उपचारसमेत गराउनुभएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !