६ जेष्ठ २०८१, आइतबार

पूर्वी चितवनमा १५ शय्याका दुई अस्पताल


अस्पताल

७ पुस, चितवन । प्रदेश सरकारले पूर्वी चितवनको दुई ठाउँमा १५ शय्याको अस्पताल बनाउने भएको छ । राप्ती नगरपालिकास्थित भण्डारा स्वास्थ्यचौकी र कालिका नगरपालिकास्थित जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पताल बनाइने भएको हो ।

ती दुई संस्थाको स्तरवृद्धि गर्न प्रदेश सरकारले स्वीकृति प्रदान गरिसकेको प्रदेश नं ३ का भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले जानकारी दिनुभयो । अस्पताल सञ्चालनका लागि उपकरण खरीद गर्न सरकारले रकमसमेत छुट्याएको उहाँले बताउनुभयो ।

उक्त नगरपालिकामा छ सरकारी स्वास्थ्य संस्था भए पनि चिकित्सकको दरबन्दी छैन । अस्पताल सञ्चालनमा आएपछि चिकित्सकको सेवा पनि शुरु हुने र जटिल किसिमका बिरामीलाई राहत मिल्ने नगरप्रमुख प्रभा बरालले बताउनुभयो । यहाँका नगरवासीमा जटिल खालको समस्या आइपरे सदरमुकाम भरतपुर नै धाउनुपर्ने बाध्यता छ ।

भण्डारा स्वास्थ्यचौकीमा तत्कालै अस्पतालको सेवा सञ्चालन गरिने र पछि निर्माणाधीन वडा कार्यालयको भवनमा अस्पताल सारिने उहाँले जानकारी दिनुभयो । अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले रु एक करोड र नगरपालिकाले रु २५ लाख छुट्याएको छ । भण्डारा र जुटपानीले माघको पहिलो सातादेखि नै अस्पतालको सेवा सञ्चालन गर्ने तयारी गरेका छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !