८ जेष्ठ २०८१, मंगलबार

चिकित्सक दम्पत्ती रिसोर्ट बनाउँदै


१६ साउन, चितवन । निजी अस्पताल सञ्चालन गरिरहेका यहाँको एक चिकित्सक दम्पत्तीले सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा ल्याउन लागेका छन् ।

भरतपुरस्थित ‘एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर’का सञ्चालकद्वय डा प्रमोद लामिछाने र डा विष्णुमाया खरेलले ठिमुरा रिभरसाइड रिसोर्ट सञ्चालनमा ल्याउन लाग्नुभएको हो ।

भरतपुर महानगरपालिका– १ ठिमुरास्थित नारायणी नदी किनारमा रु ३५ करोडको लागतमा सो रिसोर्ट सञ्चालन गर्न लागिएको हो । उक्त रिसोर्ट आगामी जनवरीदेखि सञ्चालन गर्न अहिले धमाधम काम भइरहेको छ ।

सञ्चालक डा लामिछानेका अनुसार रिसोर्टमा १० वटा भिल्ला रहनेछन् भने २० कोठा निर्माण गरिँदैछ । करीब एक हजार तथा दुई सयजना क्षमताका छुट्टाछुट्टै हलको समेत व्यवस्था गरिएको छ । तीनवटा स्वीमिङ पुल निर्माण गरिएको छ । सबै संरचना ढुंगाबाट निर्माण गरिँदैछ ।

उक्त रिसोर्टको एकातर्फ नारायणी नदी र अर्काेतर्फ पहाडी क्षेत्र पर्छ । तीन बिगाहा क्षेत्रफलमा फैलिएको सो रिसोर्ट क्षेत्रलाई पूर्णरुपमा हरियालीले ढाकेको छ । रिसोर्ट क्षेत्रमा पानीका तीनवटा मुल रहेका छन् । जहाँ बाह्रै महिना पानीको सुविधा हुनेछ ।

नदी किनारमा बिचभलिबल र फुटबल ुखेल्न सकिनेछ । लामिछानेले निकुञ्जभित्रका होटलको अनुभूति दिलाउने गरी रिसोर्ट बनिरहेको बताउनुभयो । रिसोर्ट क्षेत्रमा बेलाबखत दुर्लभ पाटेबाघ, चितुवालगायतका जंगली जनावरसमेत देख्न सकिनेछ । नदीसम्म तथा डाँडाको माथिल्लो भागसम्म पुग्नका लागि सिँढी निर्माण गरिँदै छ । यहाँबाट नदी, जंगल र पहाडको दृश्यावलोकन गर्न सहज हुनेछ ।

पवित्र तीर्थस्थल देवघाट नजिक रहेकाले धार्मिक पर्यटक यहाँ आउने अपेक्षा गरिएको छ । गर्मी छल्नका लागि पनि सो रिसोर्ट उपयुक्त देखिएको छ । “नदी किनार र जंगलको फेदमा भएकाले पंखा र एसी चलाएर बस्नु पदैन,” खरेलले भन्नुभयो ।

खरेल दम्पत्तीले रिसोर्टसँगै रहेको तीन बिगाहा जग्गामा पुनःस्थापना केन्द्र तथा ट्रमा सेन्टर सञ्चालन गर्ने योजना बनाउनुभएको छ । गरीब, असहाय बिरामीका लागि निःशुल्क तथा धनाढ्यका लागि रकम लिएर उत्कृष्ट पुनःस्थापना केन्द्र सञ्चालन गर्ने योजनाको उनीहरुको छ ।

“हाडजोर्नीको समस्या भएका बिरामीले लामो समय उपचार गर्नुपर्ने हुन्छ । यसका लागि शितल, शान्त र रमणीय ठाउँको आवश्यकता पर्छ,” उहाँले भन्नुभयो । लामिछाने हाडजोर्नी तथा खरेल दन्त चिकित्सक हुन् ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !