काठमाडौं । नेपालमै पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नेपालमा पहिलोपटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल भएको हो ।
हालसम्म नेपालमा गर्न नसकिएको स्तन क्यान्सरको वंशाणुगत परीक्षण जिन सिक्वेन्सिङ अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै सम्भव भएको छ । योसँगै अब वंशाणुगत परीक्षण जिन सिक्वेन्सिङ नेपालमै सम्भव हुने भएको हो ।
यसअघि यस्तो परीक्षणका लागि नमूना देशबाहिर पठाउनुपर्ने बाध्यता थियो । अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशका कुनै पनि भागबाट प्राप्त हुने स्तन क्यान्सरको वंशाणुगत परीक्षणका लागि प्राप्त नमूना परीक्षण गर्न सक्ने प्रयोगशाला प्रमुख रञ्जनराज भट्टले जानकारी दिए ।
“यस्तो परीक्षण पहिलोपटक सम्भव भएको हो,” उनले भने, “अब देशबाहिर नमुना पठाउनुपर्दैन,” उनले भने । यसअघि, स्तन क्यान्सर आफन्त वा नातेदारमा भए/नभएको पत्ता लगाउन यस्तो परीक्षणका लागि नमुना भारत तथा अन्य देशमा पठाउनुपर्ने बाध्यता थियो ।
यस्तो परीक्षणले वंशाणुगत कारणले हुने स्तन क्यान्सर हुने सम्भावना कुनै व्यक्ति तथा उनको परिवारमा भए नभएको पत्ता लगाउनेछ । सोही आधारमा प्रारम्भिक चरणमै उपचार गर्न सकिएमा स्तन क्यान्सरबाट व्यक्तिका परिवारलाई जोगाउन सकिने चिकित्सकहरूको भनाइ छ ।
बाहिर पठाउँदा समय पनि बढी लाग्ने र शुल्क पनि बढी तिर्नुपर्ने समस्या कम हुने भट्टले जानकारी दिए । प्रयोगशालाले रगत र टिस्युबाट यस्तो नमूना परीक्षण गर्ने बताएको छ । योसँगै प्रयोगशालाले क्यान्सरसम्बन्धी ४ थरीका नमूना परीक्षण नियमित थप गर्ने भएको छ ।
भारतमा स्तन क्यान्सरको वंशाणुगत नमुना परीक्षणका लागि ६० हजार रुपैयाँसम्म पर्ने गरेको छ । नमुना पठाउन लाग्ने समय पनि बढी लाग्ने गरेको क्यान्सर अस्पतालका चिकित्सक बताउँछन् । तर, अब प्रयोगशालाले ३० हजार रुपैयाँभित्रै परीक्षण गर्नेछ ।
नेपालमा वर्षमा करिब दुई हजार जनाले स्तन क्यान्सरको वंशाणुगत परीक्षण गराउँदै आएका छ्न् । यस आधारमा करिब १२ करोड विदेशिनबाट जोगिने देखिन्छ ।