८ पुस २०८१, सोमबार

दुर्गम गाउँमा आँखा शिविर, ७८६ जनाले लिए सेवा


आँखा शिविर

ढोरपाटन, बागलुङ । जिल्लाको दुर्गम मानिने तमानखोला गाउँपालिका सञ्चालित दुईदिने निःशुल्क आँखा शिविरबाट सात सय ८६ जना लाभान्वित भएका छन् । तमानखोला गाउँपालिका र लायन्स क्लबको आयोजनामा सञ्चालित शिविरको पहिलो दिन बुधबार पाँच सय ४६ र दोस्रो दिन बिहीबार दुई सय ४० नागरिकले सेवा लिएका हुन् ।

सहभागी बिरामीमध्ये ६९ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छभने अन्यको आँखाको जाँचसँगै निःशुल्क चश्मा, औषधि उपलब्ध गराइएको हो । एक जनाको आँखाभित्र पलाएको मासुको शल्यक्रियामार्फत हटाइएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिए ।

नागरिकको सहजताका लागि शिविर पालिकाको केन्द्र बोङ्गादोभान आधारभूत अस्पताल र तमान स्वास्थ्यचौकीमा गरी दुई स्थानमा गरिएको सञ्चालन गरिएको उनको भनाइ छ । ताकम फाउण्डेसनको सहयोग, नेपाल नेत्रज्योति सङ्घ, हिमालय आँखा अस्पताल पोखरा र धवलागिरि आँखा अस्पताल बागलुङको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको उनले बताए ।

मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि गाउँपालिकाले तमानसम्म ल्याउने÷लैजाने व्यवस्था गरेको थियो । गाउँमै भएको आँखा शिविरले बूढापाकालाई सहज बनाएको स्थानीय प्रेम बुढामगरले बताए । आँखाको सामान्य उपचारका लागि पनि बागलुङ, पोखरा जानुपर्ने बाध्यता रहेकामा गाउँमा भएको शिविरले आफूहरूको ठूलो सहयोग भएको उनको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !