१६ असार २०८१, आइतबार

ग्राण्डी अस्पतालमा ‘क्षयरोग उपचार डट्स केन्द्र’ स्थापना


ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल

काठमाडौँ । क्षयरोगका बिरामीलाई औषधि सेवनका लागि सहज बनाउन ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा क्षयरोग उपचार डट्स केन्द्र स्थापना गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र र टोखा नगरपालिकासँगको सहकार्यमा डट्स केन्द्र स्थापना गरिएको हो ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठ, टोखा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत शेरबहादुर बिसी र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल निर्देशक डा विनोद बिजुक्छेले संयुक्त रूपमा सो केन्द्रको शुभारम्भ गरे ।

सो अवसरमा अस्पतालका मेडिकल निर्देशक डा बिजुक्छेले क्षयरोगका बिरामीलाई औषधि सेवनका लागि सहज होस् भन्ने उद्देश्यले डट्स केन्द्र स्थापना गरिएको बताए ।

टोखा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत बिसीले टोखाले नगरपालिकाभित्रका ११ वटै वडामा रहेका स्वास्थ्य संस्थाबाट निःशुल्क रूपमा औषधि वितरण गर्दै आएको जानकारी दिए । “टोखाले निजी क्षेत्रबाट पहिलोपटक ग्राण्डी अस्पतालबाट क्षयरोगको औषधि वितरण सुरु गर्न लागेको हो, यसले टोखावासीलाई सहयोग पुग्ने विश्वास नगरपालिकाले लिएको छ”, उनले भने ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. श्रेष्ठले सन् २०३० सम्ममा नेपालबाट क्षयरोग अन्त्य गर्ने नीतिका साथ केन्द्रले काम गरिरहेको बताए । उनले छिट्टै काठमाडौँका अरु निजी अस्पतालमा समेत क्षयरोग उपचार डट्स केन्द्र स्थापना गरिने बताए ।

यस्तै क्षयरोगको औषधि टोखा नगरपालिकाले ग्राण्डी अस्पताललाई निःशुल्क उपलब्ध गराउने सम्बन्धमा नगरपालिका र अस्पतालबीच सम्झौतासमेत भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !