५ जेष्ठ २०८१, शनिबार

वरिष्ठ चिकित्सक डा. गौरीशङ्कर ‘दिव्य शताब्दी पुरुष’ उपाधिबाट सम्मानित


डा. गौरीशङ्कर लाल दास

काठमाडौँ । वरिष्ठ चिकित्सक तथा समाजसेवी डा. गौरीशङ्कर लाल दास ‘दिव्य शताब्दी पुरुष’ उपाधिबाट सम्मानित भएका छन् । चिकित्सा सेवाका साथै प्रशासनिक र सामाजिक क्षेत्रमा उनको योगदानको कदर गर्दै नागरिकस्तरबाट उहाँलाई सम्मान गरिएको हो ।

सिरहा जिल्लामा जन्मिएर विसं २००९ देखि चिकित्सा पेशामा संलग्न डा. लाल दास यही असोज ९ गते एक सय वर्षमा प्रवेश गर्दै छन् । डा. दासको जन्मशताब्दी वर्ष मनाउने क्रममा लब्धप्रतिष्ठित व्यक्तित्वहरूको उपस्थितिबीच उक्त उपाधि घोषणा गरिएको ‘डा. गौरीशङ्कर लाल दास जन्मशताब्दी वर्ष’ मूल समारोह समितिले जनाएको छ ।

समितिको संयोजकमा पूर्वअर्थमन्त्री तथा साहित्यकार शङ्करप्रसाद कोइराला, सहसंयोजकमा पूर्वमन्त्री विद्याधर मल्लिक र ई धु्रव थापा, सदस्य सचिवमा गणेशराज कार्की र कोषाध्यक्षमा मोहनमणि आचार्य छन् । चावहिलमा आयोजित विशेष कार्यक्रममा जनस्तरबाट ‘दिव्य शताब्दी पुरुष’ घोषणाको समर्थन गर्दै पूर्वस्वास्थ्यमन्त्री गगन थापाले डा गौरीशङ्कर लाल दासको सामाजिक योगदान अविस्मरणीय रहेको बताए ।

“राज्यले गरे पनि नगरे पनि, यो विशाल उपस्थितिले घोषणा गरेको ‘दिव्य शताब्दी पुरुष’ आफैँमा प्रभावशाली छ । सादा जीवन, उच्च विचार राख्नुहुने डा साहब हरेकका लागि प्रेरक व्यक्ति हुनुहुन्छ”, थापाको भनाइ थियो । सो अवसरमा दिव्य शताब्दी पुरुषबाट घोषित डा लाल दासले नागरिकस्तरबाट आफूलाई दिइएको सम्मानप्रति कृतज्ञता व्यक्त गरे ।

त्यसैगरी कार्यक्रममा बोल्दै पूर्वउपराष्ट्रपति परमानन्द झाले डा. लाल दासलाई राज्यस्तरबाट पनि दिव्य शताब्दी पुरुष घोषणा गरिनुपर्ने बताए । पूर्वसभामुख दमननाथ ढुङ्गानाले डा. लाल दास प्रेरणाको स्रोत भएको भन्दै उनी शताब्दी पुरुषको हकदार भएको जिकिर गरे ।

जन्मशताब्दी मूल समारोह समितिका संयोजक तथा पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाले समितिले वर्षभरि विभिन्न कार्यक्रमको आयोजना गर्दै जन्मशताब्दी वर्ष मनाउने जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !