१२ आश्विन २०८१, शनिबार

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. बस्नेत नियुक्त


डा. भूपेन्द्रकुमार बस्नेत

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को निमित्त उपकुलपतिमा डा. भुपेन्द्र बस्नेत नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आज बुधबार बस्नेतलाई निमित्त उपकुलपतिमा नियुक्त गरेका हुन् ।

सरकारले डा. बस्नेतलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त उपकुलपतिको जिम्मेवारी दिएको हो । ग्याष्ट्रोइन्टेरोलोजिष्ट समेत रहेका डा. बस्नेतले वीर अस्पतालमा दुई पटक निर्देशक भए काम अनुभव रहेको छ ।

सरकारले डा. बस्नेतलाई आर्थिक र प्रशासनिक अधिकारसहित निमित्त उपकुलपतिको जिम्मेवारी दिएको हो । न्याम्समा उपकुलपति लगायतका पदाधिकारी नियुक्त नहुँदा चिकित्सक लगायतका कर्मचारीले लामो समयदेखि तलब भत्ता लगायतका सेवा पाउन नसकेपछि आन्दोलनका कार्यक्रम नै सार्वजनिक गरेका छन् ।

डा. डीएन शाहको चारवर्षे कार्यकाल २०७९ फागुन ३० गते सकिएसँगै न्याम्समा उपकुलपतिको पद रिक्त रहेको थियो । यस्तै बस्नेतले कोरोनाकालमा कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को निमित्त कार्यकारी अधिकारीको जिम्मेवारी पनि पाएका थिए ।

यसैगरी राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको निर्देशकमा डा. सञ्जय ठाकुर र राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकमा डा. प्रज्वल श्रेष्ठ नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको आजको मन्त्रिस्तरीय निर्णयबाट उनीहरु नियुक्त भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !