४ मंसिर २०८१, मंगलबार

विपी कोइराला क्यान्सर अस्पतालमा चिकित्सक भेट्नै मुस्किल


विपी कोइराला क्यान्सर अस्पताल

चितवन । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर देख्न र सुन्नमा जति सुन्दर छ त्यहाँ उपचार गर्न आउने बिरामीले पाउने दुःख र सास्ती त्यति नै छ । पर्याप्त भौतिक पूर्वाधार र जनशक्ति हुँदाहुँदै पनि बिरामीले चिकित्सक भेट्न मुस्किल हुने गरेको बिरामीको गुनासो छ ।

अस्पताल परिसरमै चिकित्सक र कर्मचारीका लागि आवासको व्यवस्था छ । सम्भवतः नेपालमै सरकारी तहमा सबैभन्दा बढी सेवा र सुविधा यहीका चिकित्सक कर्मचारीले पाउँछन् । त्यही आएका बिरामी ल्याएर उपचार गर्ने गरी अधिकांश चिकित्सकको निजी अस्पताल र क्लिनिक छन् । बिरामी र तिनका आफन्त निजीमा जान प्रेरित गर्ने उद्देश्यले अस्पतालमा कम भेट हुने, शल्यक्रियाका लागि लामो समयपछि मात्रै पालो आउने गरेको गुनासो बिरामीको छ ।

चिकित्सकमात्रै होइन, कर्मचारीहरू पनि हाजिर गरेर हिँड्ने गरेको सेवाग्राहीको गुनासो छ । रोल्पाको थवाङबाट उपचारका लागि एक साताअघि चितवन आउनुभएका मालबहादुर डाँगी पाँच दिनदेखि अस्पतालमा भौँतारिइरहेका छन् । उनले अझै चिकित्सक भेट्न सकेका छैनन् ।

विगत एक महिनाअघि परीक्षणका लागि दिएको नमूनाको रिपोर्ट देखाउनका लागि उनी अहिले चिकित्सकको पर्खाइमा छन् । मङ्गलबार दिउँसो अस्पताल परिसरमा पुग्दा सँगै डाँगीले अस्पतालको प्रशासनका कर्मचारीलाई गुनासो गरे, “हाम्रो रिपोर्ट कहिले देखाउन पाउँछौँ ।” अस्पताल प्रशासनका कर्मचारीले जवाफ दिए ‘भोली’ । “आज चिकित्सक शल्यक्रियामा व्यस्त हुनुहुन्छ”, ती कर्मचारीले भने । आफ्नो पीडा सहेर डाँगी फेरि भोलिको आशामा फर्के ।

उपचारका लागि दुई महिनामा तीन पटकसम्म अस्पताल आएको डाँगीको भनाइ छ । उनले भने, “चिकित्सक कुरेर बस्नु पर्ने बाध्यता छ ।” उनको पेटमा समस्या भएका कारण जाँचका लागि आएका छन् । “खाएको कुरा केही अडिदैंन । मुखबाटै फर्कन्छ । यस्तो अवस्थामा चिकित्सक कुर्नु परेको छ ।” उनले भने ।

यस्तै पीडा पाल्पाबाट आएकी भिमकुमारी थापाको पनि छ । उहाँ रेडियो थेरापीका लागि आएका हुन् । “आज पालो भनेर आएको, पाइने नपाइने थाहा छैन ।” उनले भने । अस्पताल आएका बिरामी र उनका आफन्त चिकित्सकको खोजी र उपचारका लागि दिइएको समयको पर्खाइमा बस्दै गरेका छन् ।

तनहुँको दुलेगौडाबाट उपचारका लागि आएकी इन्द्रकला लम्साल बहिरङ्ग विभागमा आएर चिकित्सक कुर्दै थिए । उनले भने, “चिकित्सक आउनुहुन्छ भन्नुभएको छ । कति खेर भेट्न पाइन्छ पत्तो छैन ।”

नियमित जाँचका क्रममा आउनुभएकी लम्साल विगत एक सातादेखि क्यान्सर अस्पतामा छन् । उनले विभिन्न किसिमको परीक्षणका लागि दिएको नमूनाको रिपोर्ट देखाउँदै भने, “अब यो देखाएर त घर जान पाइन्छ कि भन्ने आश छ, तर डाक्टर भेट्न पाइन्छ, पाइँदैन निश्चित छैन ।” चिकित्सक नभेटिएपछि त्यहाँ भेटिएका सहयोगीले चिकित्सक भेट्ने वैकल्पिक उपायस्वरुप निजी अस्पताल देखाउने गरेको बिरामीका आफन्तको गुनासो छ ।

यी उदाहरणीय पात्र हुन् । अस्पतालमा आएका बिरामीले विशेषज्ञ चिकित्सकसमेत भेट्न कठिन हुने गरेको छ । चिकित्सक भेट्नका लागि वहिरङ्ग विभागमा आएका बिरामीलाई त्यहाँका कर्मचारीको छुद्र बोलीका कारण पीडित हुने गरेको गुनासो गर्छन् । विशेषज्ञ चिकित्सक हाजिर गरेर आफ्नो बहिरङ्ग सेवामा नबस्ने गरेको उनीहरूको गुनासो छ ।

उनीहरू हाजिर गरेर न बहिरङ्ग सेवामा हुन्छन् न त शल्यक्रियाकक्षमा नै हुन्छन् । एनेस्थेसिया र सर्जनका कारण बिरामीले लामो समय शल्यक्रियाको पालो कुर्नुपरेको बिरामी बताउँछन् । एनेस्थेसियाले दिउँसो १ बजेपछि काम नगर्दा समस्या बढ्दै गएको अस्पताल प्रशासन स्रोतले जनाएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतम आफूले चिकित्सक कर्मचारीले काम गरिरहेको मान्यता राख्ने बताए । गुनासोको विषयमा आफूले बुझ्ने भन्दै उनी कार्यालय समयमा काम नगर्ने चिकित्सक कर्मचारीलाई कारबाही गरिने बताउछन् । अस्पतालमा हाल एक सय जना विशेषज्ञ चिकित्सक कार्यरत छन् ।

विगत केही वर्षअघि अस्पताल खस्केर अस्तव्यस्त भएपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी एवं हालका गृहसचिव विनोदप्रकाश सिंहको नेतृत्वमा अस्पताल सुधार्ने अभियान थालिएको थियो । त्यसको प्रभाव केही वर्ष परेको अस्पतालका कर्मचारी बताउँछन् । पछिल्लो समय पुनः अस्पताल अस्तव्यस्त बनेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !