१४ बैशाख २०८१, शुक्रबार

स्वास्थ्यमा जटिलता आएपछि डा. केसीलाई काठमाडौँ हिँडाइयो


डा. गोविन्द केसी फाइल फोटो

धनगढी । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारसहितका माग राखेर धनगढीमा २०औँ सत्याग्रहमा बसेका प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि काठमाडौं हिँडाइएको छ । चिकित्सकसहितको टोलीको पटक-पटकको आग्रहपछि बुधबार बेलुकी मात्रै उनी आफ्नै खर्चमा काठमाडौं उडेका छन् ।

चिकित्सा क्षेत्र सुधारको मागसहित १० दिनदेखि धनगढीमा अनसनरत डा. केसी आफ्नो स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि काठमाडौँतर्फ हिडेका हुन् । डा. केसी आफ्नै खर्चमा बुधबार साँझ ५ बजे श्री एयरलाइन्सको नियमित उडानबाट काठमाडौँ फर्केका हुन् ।

सरकारको खर्चमा नजाने र सरकारलाई व्ययभार नगराउने भन्दै डा. केसी आफ्नै खर्चमा काठमाडौं फर्केका हुन् । काठमाडौं पुगेपछि त्रिवि शिक्षण अस्पतालमा उपचार गरिने तयारी रहेको उनका सहयोगीले बताए ।

यसअघि उनको स्वास्थ्य अवस्था नाजुक रहेको भन्दै सरकारले काठमाडौं लग्ने नेपाली सेनाको हेलिकप्टर पठाएको थियो । तर उनी सरकारले पठाएको हेलिकप्टरमा काठमाडौं जान मानेका थिएनन् । स्वास्थ्यमा जटिलता बढ्न थालेपछि उनी काठमाडौँ जान तयार भएका हुन् ।

डा. केसीको मांशपेशी सुक्दै गएको र पेटमा अल्सर भएर रक्तश्राव भएकाले सुविधा सम्पन्न अस्पतालमा स्थान्तरण गर्न चिकित्सकले सुझाएका थिए ।उनी धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा भदौ २७ गते सत्याग्रहमा बसेका थिए । स्वास्थ्य बिग्रिएपछि उनलाई सो स्थानबाट सेती प्रादेशीक अस्पताल लगिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !