१९ असार २०८१, बुधबार

महोत्तरीका पुरुष मुसहरको अाैसत आयु ४० वर्ष


१८ वैशाख, काठमाण्डौ । महोत्तरीको गौशाला नगरपालिका–७ स्थित मनहर्वा बस्तीका मुसहर (दलित) समुदायका पुरुष ४० वर्षभन्दा बढी बाँच्दैनन् ।

१२५ घरधुरी रहेको यहाँका मुसहर समुदायका पुरुषको औसत आयु ४० वर्ष मात्र रहेको मनहर्वा बस्तीका महिला मुसहरले बताएका हुन् । दैनिक अत्यधिक रक्सी खाने गरेका कारण उनीहरु ४० वर्षभन्दा बढी नबाँच्ने स्थानीय मुसहर महिला निर्मला सदाले बताइन् ।

यहाँका मुसहर बिहान उठ्नेबित्तिकै रक्सी खाने, दिनभरि काम गर्ने, काम गर्दागर्दै दिउँसै रक्सी खाने र फेरि बेलुका कमाएर ल्याएको पैसाको रक्सी खाएर सुत्ने गरेका कारण उनीहरु ४० वर्षभन्दा बढी नबाँच्ने स्थानीय तुलसी सदाले बताइन् ।

दुई वर्षपहिले मात्र ३३ वर्षको उमेरमा अत्यधिक रक्सी खाएकै कारण स्थानीय दुखा सदाको मृत्यु भएको सुनाउँदै उनकी पत्नी इन्दु सदाले यहाँका कुनै पनि मुसहर ४० वर्षभन्दा बढी बाँच्ने नगरेको एक मात्र कारण अत्यधिक रक्सी सेवन रहेको बताइन् ।

मनहर्वा बस्तीका पुरुष मुसहर दिनरात रक्सी खाने, झै झगडा गर्ने, श्रीमती कुट्ने, बालबालिकालाई नपढाउने र दैनिक रोजगारीवाट आर्जन गरेको अधिकांश पैसा रक्सीमा खर्च गर्नाले उनीहरुको अवस्था अति नै दयनीय रहेको महिलाले सुनाए ।

यो बस्तीमा कुनै पनि मुसहरको घरमा टिनको छानो वा पक्की घर छैन । सबैका घर खर, बाँस तथा झारपातवाट बनेको र सबैको छानो चुहिने अवस्थाका छन् । दैनिक रक्सी खाएका पतिवाट पीडित तथा अनेकौँ समस्यावाट पिल्सिएका त्यस बस्तीका महिलाले यस बस्तीमा रक्सीमाथि प्रतिबन्ध लगाइदिन स्थानीय प्रशासनलगायत धाउने गरेका छन् ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !