१५ असार २०८१, शनिबार

राजधानी बाहिर चितवन मेडिकल कलेजमा पहिलोपटक कलेजो पत्यारोपण


राजधानी बाहिर चितवन मेडिकल कलेजमा पहिलोपटक कलेजो पत्यारोपण

चितवन । काठमाडौं उपत्यका बाहिरको अस्पतालमा पहिलोपटक चितवन जिल्लाको भरतपुरस्थित चितवन मेडिकल कलेजले कलेजोको सफल प्रत्यारोपण गरेको छ । उक्त कलेजले आज बिहीबार बिहान पत्रकार सम्मेलन गरी भरतपुर महानगरपालिका-१० निवासी ५४ वर्षकी धनकुमारी लामामा कलेजो प्रत्यारोपण (लिभर ट्रान्सप्लान्ट) गरिएको जनाएको छ ।

अस्पतालले चैत ८ गते आइतबार धनकुमारीको कलेजो प्रत्यारोपणको गरेको हो । अस्पतालका अनुसार लामाकी ३३ वर्षीया छोरी उषा तामाङले प्रत्यारोपणका लागि आमालाई कलेजो दिएकी हुन् । भरतपुर घर भए पनि लामाको परिवार काठमाडौं बस्दै आएको थियो ।

पाँच महिनाअघि समस्या देखिएपछि अस्पताल लैजाँदा कलेजो नराम्ररी बिग्रेको पत्ता लागेको धनकुमारीका श्रीमान् रनबहादुर तमाङले बताए । कलेजो दिने दाता खोजी गर्दा छोरी नै अग्रसर भएको उनले बताए । प्रत्यारोपणपछि आमाछोरी दुवैको अवस्था सामान्य हुँदै गएको हुँदा खुसी लागेको रनबहादुरले सुनाए । नेपालमा ५ वर्षअघि कलेजो प्रत्यरोपणको सेवा सुरुवात भएको हो ।

कलेजका विषेशज्ञ चिकित्सकहरू डा. सञ्जय यादव, डा. एकानन्द सिंह, डा. किरण अधिकारी, डा.बरुण श्रेष्ठ, डा. सागर पौडेल, डा. नवीन यादव, डा. सुरेश गौतम, डा. विज्ञान पौडेल, स्टाफ नर्स अन्जु थापा, श्रृति यादव र सलिना तिवारी, सुमी कार्की, अस्मिता थापा, पुष्पा थापामगर, बायोमेडिकल इन्जिनियर प्रकाश खतिवडा, एपोलो अस्पतालका डा. निरज गोयल, डा. अरुणकुमार, डा. सञ्जीव अनिजा लगायतको टिमले गत चैत्र ८ गते १२ घण्टा लगाएर सफल प्रत्यारोपण गरेको हो ।

लामाको स्वास्थ्य जाँच गराउँदा कलेजो काम नलाग्ने गरी बिग्रिएकोले प्रत्यारोपणको विकल्प नभएको अस्पतालले जनाएको छ । बिग्रिएको कलेजोलाई पुनर्जीवन दिन बिरामीको छोरी उषाको शरीरमा असर नपर्नेगरी आवश्यक कलेजोको मात्रा निकालेर प्रत्यारोपण गरिएको चिकित्सक बताए ।

हाल कलेजो ग्रहण गर्ने आमा र कलेजो दान गर्ने छोरी दुवैको स्वास्थ्य सुधारोन्मुख रहेको कलेजले जनाएको छ । शल्यक्रियामा आवश्यक रगत नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय चितवनले उपलब्ध गराएको थियो ।

केही वर्षदेखि कलेजो प्रत्यारोपणका लागि आन्तरिक तयारी गरिरहेको कलेजले आवश्यक सबै उपकरण, दक्ष प्राविधिक जनशक्ति, कलेजो रोगको उपचार तथा प्रत्यारोपण सम्वन्धी विषेशज्ञहरुको व्यवस्थापन गरेको थियो । प्रत्यारोपणका लागि कलेजमा ४ जना सर्जन, ३ जना क्रिटिकल केयर, ३ जना एनेस्थेसियोलोजिष्ट, १० जना विशेष तालिमप्राप्त नर्सकहरु छन् ।

कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले चितवन मेडिकल कलेजमा कलेजोसम्बन्धी रोगको उपचार र प्रत्यारोपणका लागि दक्ष जनशक्तिको टिम तयार भइसकेको बताए । केही वर्षदेखि चितवन मेडिकल कलेजमा कलेजो सम्बन्धी नियमित जाँच विषेशज्ञ चिकित्सकबाट हुँदै आएको छ ।
कलेज प्रत्यारोपणका लागि २५ लाख रुपैयाँ खर्च लाग्ने कलेजले जनाएको छ । सरकारले कलेजो प्रत्यारोपण गराउने बिरामीलाई सरकारले केही सहयोग गरे अझै सस्तोमा गर्न कलेज तयार रहेको डा. न्यौपानले बताए । कानुनी जटिलताहरुलाई फुकाउँदै सहज बनाएर केही सहयोग गरे प्रत्यारोपणको दर नेपालमै बढाउन सकिने डा. न्यौपानेको भनाइ छ ।

डा. सागर पौडेलका अनुसार सिएमसीको शिक्षण अस्पतालको ओपीडीमा कलेजोका दैनिक ३० जना जति बिरामी आउँछन् । तीमध्ये २० प्रतिशतलाई प्रत्यारोपण सेवा आवश्यक देखिने डा. पौडेलले बताए । शरीरमा भएको कलेजको ५० देखि ६० प्रतिशत भाग बिग्रेपछि मात्रै लक्षण देखिन्छ ।

त्यसैले कलेजो धेरै मात्रामा बिग्रेपछि अस्पताल आउने गर्दछन् । नेपालबाट हाल वर्षमा ६० जना जति बिरामी कलेजो प्रत्यारोपणका लागि विदेश जाने गरेको डा. हरिशचन्द्र न्यौपानेले बताए । त्यसैले देशभित्रै सहज सुविधा उपलब्ध भए सेवा लिनेहरु बढ्ने उनको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !