७ मंसिर २०८१, शुक्रबार

प्रा. डा. केसीका मागका विषयमा वार्ता शुरु


डा. गोविन्द केसी

काठमाडौँ, २२ असोज । अनशनरत प्रा. डा. गोविन्द केसीका मागका सम्बन्धमा सरकारी वार्ता टोली र उहाँका प्रतिनिधिबीच वार्ता शुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दुवै टोलीबीच वार्ता शुरु भएको डा केसीका तर्फबाट सहभागी नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा लोचन कार्कीले जानकारी दिनुभयो ।

उहाँसँग वार्ता गर्न सरकारले बुधबार शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । सरकारी टोलीमा सहसचिव जीवराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा दिलीप शर्मा सहभागी हुनुहुन्छ ।

सरकारले टोली गठन गरेलगत्तै डा केसीका तर्फबाट डा जीवन क्षेत्रीको संयोजकत्वमा वार्ता टोली गठन गरिएको थियो । उक्त टोलीमा डा अञ्जनीकुमार झा, अधिवक्ता ओमप्रकाश अर्याल र नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा कार्की सहभागी हुनुहुन्छ ।चिकित्सा शिक्षा सेवा सुधारका लागि भन्दै डा केसीले भदौ २९ गते जुम्लाबाट अनशन शुरु गर्नु भएको थियो । यो उहाँको १९औँ अनशन हो । डा केसीले चिकित्सा शिक्षा सुधारका विषयमा ६ बुँदे माग प्रस्तुत गर्नुभएको छ । अनशन शुरु भएको एक हप्तापछि उहाँलाई सरकारले जुम्लाबाट काठमाडौँ ल्याएको थियो । डा केसीको जीवन रक्षाको माग गर्दै मुलुकका विभिन्न क्षेत्रमा प्रदर्शन भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !