३ मंसिर २०८१, सोमबार

आज लुतो फाल्ने दिन : के हो सुके-लुतो ?


लुतो

आज साउने सक्रान्ति । साउने संक्रान्तिलाई लुतो फाल्ने सक्रन्तिका रुपमा मनाउने चलन छ । आजबाट असार सकिएर साउन महिना शुरु भएको छ । नेपालका प्राचीन संस्कृति अनुरुप साउन १ गते साँझ घर घरमा लुतो फाल्ने प्रचलन छ । लुतो फाल्ने संस्कृतिले जेनतेन निरन्तरता पाउँदै आए पनि विस्तारै त्यस क्रममा प्रयोग गरिने सामग्री बारेको जानकारी नयाँ पुस्तामा खासै छैन ।

बरिष्ट पत्रकार भैरव रिसालका अनुसार पहिला-पहिला लुतोलाई दुई प्रकारमा बडिन्थ्यो हुन्छन् । एउटा लुतो मात्र भनिन्थ्यो भने अर्कोलाई ‘सुके-लुतो’ भनिन्थ्यो । सुके-लुतो धेरै नै चिलाउने, जति कन्याए पनि चिलाई नमर्ने हुन्थ्यो ।

मकैको खोया वा नङले कन्याउँदा पनि बरु छाला दरफरिएर घाउ हुने, चिलाउन नछाड्ने हुन्थ्यो । सुके-लुतो प्रायः काछ र गुप्ताङ्गमा बढी आउने । यसै कारण यसले लाजमर्दो पाथ्र्यो । मान्छेहरू भएको ठाउँमा कन्याउनु भएन, नकन्याए बसिनसक्नु पार्ने ! अनि उठेर एकान्तमा कन्याउनुपर्ने ।

लुतो फाल्न चाहिने वनस्पति बटुल्दा हामी धसिङ्गरेका बोट बढी ल्याउँथ्यौं । त्यसको पात आगोको रापमा पर्दा फोका निस्किएर पटपट फुट्थ्यो, जुन आवाज हामीलाई रमाइलो लाग्थ्यो । मसिना दाउरा दश-बाह्र वटा चाहिन्थ्यो । यी सबै सामानको जोरजाम साँझ पर्नु अगावै गरिसकिन्थ्यो ।

साँझमा आँगनको कुनामा लुतो फाल्ने दाउरा बालेर कण्डारक रात्रिचरको पूजा गरिन्थ्यो । सरसामानको जोहोदेखि लुतो फाल्ने प्रक्रियासम्ममा अभिभावकहरू केटाकेटीलाई हौस्याउँथे । घरैपिच्छे लुतो फाल्ने उत्सव ! राक्षसलाई चढाएको भेटी छोरा मान्छेले लिन नहुने भएकाले छोरीचेलीलाई दिनुपथ्र्यो । तर छोरीहरू लुतो सर्छ भनेर पैसा लिनै नमान्ने, बडो रमाइलो वातावरण हुन्थ्यो ।

पूजा गरिसकेपछि बलिरहेका अगुल्टा लिएर आँगनको पर्खालमा चढ्यो र पल्लो गाउँका बासिन्दामध्ये कसैको नाम ठूलो स्वरमा उच्चारण गरी ‘ए फलाना… लुतो लैजा’ भन्यो । टोल–छिमेकमा नाम तोकेर लुतो पन्छाउने परम्पराले त्यो समयमा तनाव पनि पैदा गथ्र्यो । अघिपछि औधी मिलेर बसेका वल्लो–पल्लो गाउँकाहरूबीच लुतो फाल्ने दिन भने केही तिक्तता छाउँथ्यो ।

हिजोआज गाउँघरमा लुतो फाल्ने चलनमा परिवर्तन आएछ । धसिङ्गरे लगायत वनस्पति लिन वनपाखा जाने चलन हराएछ । नजिकै पाइने नरकटका बोट, तितेपाती जस्ता वनस्पति जम्मा गर्ने, दाउराको साटो छ्वालीका मुठा बाल्ने गरिंदो रहेछ । यसले पहिले लुतो फाल्ने परम्पराका नाममा विविध वनस्पतिको संरक्षण गरिने परिपाटी हराएछ ।

आज पुरै विश्व चरम भौतिकवादको जलजलमा फसिरहेको छ । पश्चिमीकरणको प्रभावले गर्दा आज गरीवदेखि धनी सवैले छोराछोरीहरुलाई प्राय: बोडिंग स्कुलमा नै पढाउने गर्छन् । अंग्रेजी शिक्षा पढ्दा आफ्ना छोराछोरीहरु विदेशमा पनि पढ्न जान सहज हुने भुत हाम्रा नेपाली अभिभावकहरुमा चढेको हुन्छ ।

तर राम्रो शिक्षा दिने नाउँमा धेरै अभिभावकहरुले आफ्ना छोराछोरीहरुलाई आफ्नो धर्म, संस्कृति, रितिरिवाज, चलनचल्ती, नैतिकताको बारेमा शिक्षा नदिदाँ अहिलेको नयाँ पुस्ता यी कुराहरुमा बेखवर छन् । ५ वर्ष पुगेको छैन अहिलेका केटाकेटीहरुलाई मोवाइल, ल्यापटप चाहिन्छ । मोवाइल ल्यापटपमा पब्जी ग्याम खेल्न र फेसबुक चलाउन व्यस्त देखिन्छन अहिलेका ठिटाठिटीहरु ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !