१२ बैशाख २०८१, बुधबार

महिला स्वास्थ्य स्वयम्सेविकालाई प्रोत्साहन भत्ता


सिञ्जा, ७ असार । जुम्लाको गुठीचौर गाउँपालिकाले स्वास्थ्यमा महिला स्वास्थ्य स्वयम्सेविकाले पु¥याएको योगदानको उच्च कदर गर्दै ५० जनालाई ‘प्रोत्साहन भत्ता’ उपलब्ध गराएको छ । गाउँपालिकाका १ देखि ५ वडाभित्र कार्यरत उनीहरुलाई जनही रु सात हजार पाँच सय प्रदान गरिएको अध्यक्ष हरिबहादुर भण्डारीले जानकारी दिनुभयो ।

यसका लागि प्रदेश सरकारले रु ६ लाख ७५ हजार विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत अमरबहादुर गिरीले बताउनु भयो । अध्यक्ष भण्डारीले भन्नुभयो, “ रकमले उनीहरु उत्साहित छन् । स्वयम्सेविकाले गाउँघरका नागरिकलाई निःशुल्क सेवा दिइरहेका छन् । जुनसुकै अवस्थामा स्वास्थ्य स्वयम्सेविका खटिने गर्छन् तर सेवासुविधा पाउन सकिरहेका छैनन् । स्वास्थ्य स्वयम्सेविकाको कामको उच्च मूल्याङ्कन गर्दै काम गर्ने हौसला प्रदान गर्न गाउँपालिकाले प्रोत्साहन भत्ता दिइएको हो ।”

भत्ता पाउँदा घरायसी खर्च जुटाउन सजिलो भएको वडा नं ३ का महिला स्वास्थ्य स्वयम्सेविका धनलक्ष्मी कठायत (महताराको) भनाइ छ । स्वयम्सेविकाले सुरक्षित प्रसूति सेवा, बालबालिकालाई खोप, गर्भवतीलाई आइरन चक्की वितरण, बालबालिकालाई भिटामिन खुवाउने लगायत स्वास्थ्यका आधारभूत काममा साथ दिँदै आइरहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !