अदुवा विशेषगरी हामी तरकारीहरुमा मसलाको रुपमा प्रयोग गर्न सकिने भएको हुँदा यो लोकप्रिय नगदेवाली हुन पुगेको हो । बजारमा अदुवाको राम्रो मूल्यमा बिक्री रहेको छ ।
तरिकाहरु
- यो चैत्र/बैशाख महिनामा रोपिन्छ ।
- यो खेती गर्नका लागि सामान्यतया पानी नजम्ने दुमट किसिमको माटो उपयुक्त हुन्छ ।
- बारी जोतेर राम्रोसँग डल्ला फोरी माटोलाई बुर्बुर किसिमको बनाउनु पर्दछ।
- ड्याङ खनेर त्यसमा कम्पोष्ट मल अथवा पचेको गोबरमल हाल्नु पर्दछ । त्यसको माथि अदुवाको पानालाई स-सानो टुक्रामा भाँचेर रोप्नु पर्दछ । यसरी टुक्रा भाँच्दा प्रत्येक टुक्रामा कम्तीमा एउटा टुसो पर्ने गरी सावधानीपूर्वक भाँच्नुपर्दछ ।
- कम्पोष्ट मलमाथि अदुवाको बीउ राखिसकेपछि धुलो माटोले पुर्नु पर्दछ ।
- झार आदिबाट जोगाउनका लागि सुकेको पतकर आदि ड्याङमा राख्न सकिन्छ ।
- अदुवा रोपेको ठाउँमा उम्रेको झारलाई बराबर उखेलीरहनु पर्दछ ।
- अदुवाको बिरूवा राम्रोसँग उम्रेपछि अघि रोपेको बीऊ झिक्नु पर्दछ । यसरी झिकिएको बीऊको टुक्रालाई माऊ र कतै बुढी पनि भन्दछन् ।
- माऊ झिकिसकेपछि अदुवालाई उकेरा अर्थात् माटो दिनु पर्दछ ।
- चैत्र बैशाखमा रोपेको अदुवा कार्तिक/मंसीरमा खन्न सकिन्छ ।(एजेन्सीको सहयोगमा)