९ पुस २०८१, मंगलबार

कसरी रहने खुसी ?


happy-girl-images

हामी भित्र सकरात्मक र नकारात्मक गरी दुई प्रकारका भावनाहरु छन् । सकारात्मक भावनामा भावनामा प्रेम, आदर, अनुग्रह, आनन्द पर्छन् । नकरात्मकमा घृणा, रिस, इर्श्या, इख, गुनासो आदि पर्छन्। सकरात्मक भावनले हामीमा ऊर्जा बढाउँछ । खुसीको सञ्चार गराउँछ भने नकरात्मकले दुःखी बनाउँछ । त्यसैले हामी अभावका कारण दुःखी होइन, हामीमा रहेका नकरात्मक भावनालाई बढवा दिएर दुःखी भइरहेका छौं ।

शाररिक रुपमा रोग लाग्यो वा समस्या आयो भने हामी आफैं थाहा पाउँछौं तर मनमा समस्या आयो भने थाहा हुँदैन । विस्तारै गाँज्दै लगेर डिप्रेशनतिर धकेल्छ । मान्छेमा नकरात्मक भावना बढी आउन थाल्यो भने मन समस्यामा छ भन्ने बुझ्नुपर्छ । समस्या आउन नदिन तिनलाइ नियन्त्रणमा राख्नुपर्छ ।

हाम्रा धर्म संस्कृतिमा मनलाई स्वस्थ राख्नकै लागि केही अभ्यास गर्ने गरिएका छन् । तर, हामीले तिनलाई पनि छाडेपछि मन अस्वस्थ हुँदै गयो ।

मन बिगारेर डिप्रेशनसम्म धकेल्ने केही तत्व यसप्रकार छन्ः

अहम्

अहम् खुसी रोक्ने सबभन्दा ठूलो शत्रु हो । अहमका कारण मान्छे फस्दै जान्छ र डिप्रेशनमा पुग्छ । अहम् म  मात्रै यस्तो, म मात्रै उस्तो भन्ने एउटा प्रकारको भयो । अर्को मैले यसो गर्न सकिनँ,  त्यसो गर्न सकिनँ भन्ने हुन्छ । यसले आत्मग्लानी महशुस गराउँछ । त्यसपछि ऊ विस्तारै अरु र आफैंसँग झिँझिँन थाल्छ । मनमा अनेक कुरा खेल्न थाल्छन् । त्यसपछि आफूलाई दोषी ठहर्‍याउँछ ।  यसरी डिप्रेशनको शिकार भइन्छ।

गुनासो

जब मान्छेमा गुनासो गर्ने बानी बढ्दै जान्छ । यसले पनि मनलाई अस्वस्थ बनाउँछ । उसमा फलानो यसो गरिदिएन वा यसो भएन भन्ने खालका भावना आउँछन् । यसले मन दुखाउँछ । आत्मबल कमजोर बनाउँछ । फलानाले यसो गरेन किन त्योसँग बोल्ने भन्ने खालका भावना आउँछन् । यसले उसलाई एक्लोपनतिर धकेल्छ । विस्तारै मनमा कुरा खेलिरहने, टाउका दुख्ने, लगायत हुँदै जाँदा डिप्रेशन हुन्छ।

इख

इखले पनि आफैंलाई समस्यामा पार्ने हो । त्यसले आफूमाथि भएका खराब व्यवहार वा आफूलाई भएको हानी सम्झाइरहन्छ । यसो हुँदा मन दुखिइरहन्छ । उसले यस्तो गरेको थियो, त्यसलाई यस्तो गर्छु खालका भावना आइरहन्छन् । यसले रिस बढाउँछ । अन्तमा हानी मनलाई नै गर्ने हो।

रिस

हामी धेरैपल्ट यत्तिकै रिसाइरहेका हुन्छौं, रिसाउनुपर्ने कारण हुँदैन । तुरुन्तै आवेशमा आएर बाझिहाल्छौ । किनभने हामी भित्रभित्रै तातिरहेका हुन्छौं, केही कुरामा ठोक्किनै हुँदैन रिसाइहाल्छौं । हामी कोही रिसाउँदा मसँग रिसायो भन्ने ठान्छौं । तर, ऊ आफैंसँग रिसाएको हो । ऊ भित्र पीडा, तनाव, आवेग आदिको बोझ छ । त्यो उतारेको हो । बाटोमा गाडीमा हिँड्दा कसैले थोरै छोयो भने ‘मार्न खोजेको?’ भन्दै कराउँछौं । उसले तपाईंलाई चिनेको त छैन, किन मार्न खोज्थ्यो । अन्जानमा भयो । तपाईंले पनि कहिँ ठोक्काउनु भएको थियो होला अन्जानमा । हामी मात्रै सही, हामीले गरे जे पनि ठीक भन्ने खालका भावनाले रिस पैदा गर्छै । रिसलाई दबाउनु पनि डिप्रेशनबाट जागिने सही उपाय हो।

के गर्ने ?

सहयोगी बन्ने

सहयोग पाउनेलाई भन्दा दिनेलाई फाइदा पुग्छ । तपाईंले कसैलाई पाँच रुपैयाँ दिँदा त्यो पैसाले उसले के गर्ला ? कति फाइदा होला ? तर, तपाईंलाई भने त्यति दान गर्दा पनि धेरै खुसी मिलिरहेको हुन्छ। जुन हजारौं खर्च गर्दा नमिल्न सक्छ । यसैगरी कोही अशक्त, असहायलाई बाटो कटाएपछि आफ्नो मनमा पैदा हुने सन्तोषका तरंग हेर्नुहोस् फाइदा आफैंलाई भएको हुन्छ । हाम्रो धर्म संस्कृतिमा यही कारणले सहयोगलाई जोड दिइएको हो । सहयोगमाथि अध्ययन पनि भएका छन् । त्यसले आत्मबल बढाउने र खुसी तुल्याउने निष्कर्ष निस्किएका छन्।

माफ गर्ने

माफी आफू र अर्काे दुबैलाई गर्नुपर्छ । कहिलेकाहिँ आफूले भुलवश वा आवेशमा आएर केही बिगार गरिएको हुन्छ । आफूले गरेको उक्त गल्तीका कारण पिरोलिरहने समस्या हुन्छ कतिमा । तर, आफूले अरु कसैको केही बिगारेको भए उससँग माफी माग्ने र आफूले आफैंलाई पनि गल्ती नदोहो¥याउने गरी माफी दिने गर्नुपर्छ । यसैगरी कसैले अन्जानमा गरेको गल्तीमा पनि माफ दिन सक्नुपर्छ । यसले मनलाई हल्का बनाउँछ । त्यसो गर्न सकिएन भने मनमा बोझ बढ्छ र बोझ बोकेर हिँड्दा समस्या त आउँछ नै।

धन्य हुने

मानवमा जति भए पनि नपुग्ने स्वभावको विकास हुँदै गएको छ । तर, आफूले प्राप्त गरेका कुरामा धन्य हुनु पनि मनलाई आराम दिन महत्वपूर्ण तत्व हो । जस्तोः एक गिलास पानी  पिउन पाइयो भने पनि धन्य हुनुपर्छ । मैले यति त पाएँ भन्ने खालको महशुस गर्न सक्नुपर्छ । कसैले गरेको सानो सहयोगमा पनि कृतज्ञ हुनुपर्छ । केही प्राप्त गर्दा धन्यवाद भन्नुको अर्थ त्यही हो । हामी अहिले मुखले धन्यवाद त भन्छौं होला मनैदेखि धन्य हुन भने छाडेका छौं । हाम्रो संस्कृतिमा प्रकृति (जस्तै हावा, पानी, रुख, पहाड, सूर्य आदि)लाई पुज्ने चलन छ । यसको अर्थ  घाम, पानी, हावा प्राप्त गरेकोमा धन्य हुने हो।

स्वीकार्य

जे भयो भइहाल्यो भनेर स्वीकार्नुपर्छ । किनभने अस्वीकार गर्दा असन्तोष मात्रै बढ्छ फाइदा हुँदैन । मान्छेहरु अचेल असन्तोषी बन्दै गएका छन् । लामो नाक हुनेलाई लामो भएको मन पर्दैन, छोटो हुनेलाई छोटो । कालो भएँ, गोरो भएँ, होचो भएँ, अग्लो भएँ जस्ता कुरामा असन्तोष देखिन्छ । यो भनेको आफूलाई नस्वीकार्नु हो । आफूसँग्ग भएको कुरामा चित्त नबुझाउनु हो । यसले ‘बडी डिस्मर्फिक डिसअर्डर’ भन्ने रोग पनि लाग्छ । यसैगरी आफू गरिबीमा जन्मे, पहाडमा जन्में, तराईमा जन्में लगायत खालका अस्वीकार्यरता पनि भेटिन्छन् । जहाँ जन्में पनि जन्में भन्ने कुरामा धन्य हुनुपर्छ । यसैगरी अर्को अस्वीकार्यरता चाहिँ त्यो मान्छेले यसो गरेन, उसो गरेन, यसो भएन, उसो भएन भन्ने खालको हो । यो पनि मानसिक समस्याको कारण हो ।

उदारता

समान्य उदाहरण प्रस्तुत गरौं, लट्ठी अलिकति बंग्याउने खोज्यो भने भाँचिन्छ तर रबर जति बंग्याए पनि हुन्छ र छाड्ने बित्तिकै आफ्नै स्थितिमा आइपुग्छ ।  यसको अर्थ मन पनि जति कडा बनाइयो, त्यति नै भाँचिने सम्भावना अधिक रहन्छ । त्यसैले हामीले मन स्वस्थ राख्न वा भाँचिन नदिन उदार हुन जरुरी हुन्छ । ‘म झुक्दै नझुक्ने नेपालीको छोरो’ मानसिक स्वास्थ्यका लागि हानिकारक छ बरु ‘फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र’ सही हुन्छ।

सारांशमा यो संसारमा केही पूर्ण छैन  र कोही पूर्ण छैनौं । त्यसैले हामीले आफूलाई जे छ त्यही रुपमा अँगाल्ने बानीको विकास गर्नुपर्छ । तपाईं आफू पूर्ण हुनुहुन्न भने अरुबाट त्यस्तो अपेक्षा किन राख्नुहुन्छ ? यसैगरी नियमित ध्यान गर्नेको अनुहारमा हेर्नुहोस् सदा चमक हुन्छ । यसको अर्थ उनीहरुको मन स्वस्थ छ । हामीले पनि ध्यान गर्ने बानी बसाल्नुपर्छ । यसले गहिरो सोचमा पुर्‍याउँछ । आत्मैदेखि सोच्ने बानी बसाल्छ । मन शान्त हुन्छ । डिप्रेशन हुनबाट जोगाउँछ । (एजेन्सीको सहयोगमा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !