१२ आश्विन २०८१, शनिबार

कांग्रेससँग तीन बुँदे सहमति गर्दै गच्छदार


असोज ३०, काठमाडौँ | विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले नेपाली कांग्रेसमा समायोजन भएको छ। आज बालुवाटारमा आयोजित एक कार्यक्रममा दुई पार्टीबीच तीन बुँदे सहमतिमा हस्ताक्षर गर्दै गच्छदारले नेपाली कांग्रससँग पार्टी एकीकरण गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा   भावुक बनेका गच्छदारले ‘गिरिजाप्रसादले रोक्दारोक्दै पनि दश वर्ष अघि यही बालुवाटारबाट म बाहिरिएको थिएँ’ भन्दै आँशु झारेका थिए । उनले आफूलाई सम्हाल्दै थपे, ‘दश वर्षअघि जुन ठाउँबाट बाहिरिएको थिएँ, त्यहीँबाट पुनः प्रवेश गर्न पाउँदा खुसी लागेको छ।

गच्छदारले वाम एकताका कारण बाध्य भएर आफूले कांग्रेससँग पार्टी एकताको निर्णय लिनुपरेको बताए । बालुवाटारमा आयोजित एकता घोषणा कार्यक्रममा गच्छदारले गठबन्धनको सरकार बनाउने आत्मविश्वासका साथ अगाडि बढ्न कार्यकर्तालाई निर्देशन पनि दिए।

‘वाम एकताबाट लोकतन्त्र रहने कि नरहने भन्ने भयो। माओवादी र एमालेले दुई तिहाई बहुमत ल्याएर जनवादी संविधान बनाउने घोषणा गरेपछि बाध्य भएर हामीले एकताबारे सोच्नुपर्‍यो,’ गच्छदारले भने, ‘त्यसपछि लोकतन्त्रका लागि लडेको व्यक्तिको नाताले एकता गर्ने निर्णय लिन म बाध्य भएँ।’

यस्तो छ तीन बुँदे सम्झौता

– संविधानलाई थप लोकतान्त्रिक बनाउने।

– आगामी निर्वाचनमा संविधान संशोधनलाई साझा मुद्दा बनाउने।

– थारु, मधेस तथा राजनीतिक आन्दोलनका क्रममा जेल परेकाहरुलाई रिहा गर्ने।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !