१३ आश्विन २०८१, आइतबार

संसद् बैठक आधा घण्टाका लागि स्थगित


प्रतिनिधिसभाको बैठक

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक अहिले आधा घण्टाका लागि स्थगित भएको छ । नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईद्वारा संसद्मा प्रस्तुत जरुरी सार्वजनिक महत्वको विषयमाथि सांसदहरुले बोल्नेक्रम सकिएपछि सभामुख सापकोटाले बैठक आधा घण्टाका लागि स्थगित गर्नुभएको हो ।

उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद पूर्णकुमारी सुवेदी विगतदेखि नै पहल हुँदै आए पनि मलको आपूर्तिको समस्या कायमै रहेको बताउनुभएको थियो ।

उहाँले अर्गानिक खेती र अर्गानिक मल उद्योगको विषयमा कृषि समितिमा समेत आवाज उठेको स्मरण गराउँदै तत्कालीन समस्या भनेको जिटुजिमार्फत किसानको खेतमा मल पुग्ने वातावरण बनाउनु रहेको बताउनुभयो ।

एक देशबाट मात्रै मल ल्याउँदा समस्या भएकाले अर्काे मुलुकबाट आउने नाका पनि खुला गर्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद शक्तिबहादुर बस्नेत मुलुकको विभिन्न परिस्थितिका कारण मुलुकमा सधैँ नै मल अभाव हुँदै आएको र समस्या समाधानका लागि हरित अर्थतन्त्र नै महत्वपूर्ण भएको बताउनुभयो ।

उहाँले तत्कालका लागि सुशासनलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो । टेन्डरदेखि नै कार्टेलिङ हुने गरेको जानकारी गराउँदै यो समस्या कृषि मन्त्रीबाटै पनि समाधान हुन नसक्ने भएकाले प्रधानमन्त्रीस्तरबाटै उच्चस्तरीय संवाद जरुरी रहेको बताउनुभयो ।

सांसद महेश बस्नेत फोहरलाई कम्पोष्ट मलका रुपमा रुपान्तरण गर्ने योजना ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले नीतिगत सुधारदेखि मन्त्रीको व्यवहार सुधार हुनु जरुरी रहेको पनि बताउनुभयो ।

सांसद देवप्रसाद तिमिल्सिनाले किसानलाई मलखाद दिनुपर्ने कुरा सदनमा पटकपटक उठाउँदै आएको भए पनि समस्या समाधान हुन नसकेको स्मरण गर्नुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !