१० पुस २०८१, बुधबार

तीन भाई गए, तीन नयाँ आए : आखिर जनताले के पाए ?

भागबण्डावाट प्रदेश प्रमुख !


परशुराम खापुङ, तिलक परियार, देवराज जोशी, सोमनाथ अधिकारी, गोविन्दप्रसाद कलौनी र गंगाप्रसाद यादव

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ३ जना प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छिन् । हिजो कात्तिक २२ गते सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय तथा सिफारिसको आधारमा राष्ट्रपतिले प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गरेकी हु्न् ।

राष्ट्रपति कार्यालयद्वारा आज मंगलबार साँझ जारी गरिएको प्रेस विज्ञप्तिमा संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, कर्णालीका प्रमुख, गोविन्द प्रसाद कलौनी र सुदूरपश्चिमका प्रमुख गंगाप्रसाद यादवलाई पदमुक्त गरेको उल्लेख गरिएको छ ।

यस्तै राष्ट्रपति भण्डारीले ३ जना प्रदेश प्रमुखलाई पदमुक्त गरेसँगै सरकारकै सिफारिसमा नयाँ ३ जना प्रदेश प्रमुख पनि नियुक्ति गरेकी छिन् । नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशी नियुक्त गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसरी केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका तीन प्रदेश प्रमुखको जागिर चट् भएको छ भने देउवा सरकारले सिफारिस गरेर राष्ट्रपति भण्डारीद्वारा नियुक्त गरिएका तीन नयाँ प्रदेश प्रमुखले जागिर पाएका छन् । हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर १ मा खापुङ, कर्णालीमा परियार र सुदूरपश्चिम प्रदेशमा जोशीलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको थियो ।

प्रदेश १

प्रदेश १ मा ओली सरकारले नियुक्त गरेका प्रदेश प्रमुख प्यासीलाई देउवा सरकारले जनता समाजवादी पार्टीको कोटावाट खापुङलाई प्रदेश प्रमुखमा सिफारिस भएसंगै प्यासीको प्रदेश प्रमुख पद खुस्किएको हो । जनता समाजवादी पार्टीको कार्यकारिणी परिषद् सदस्य समेत रहेका खापुङ जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईनिकट मानिन्छन् ।

कास्कीका पूराना बामपन्थी नेता प्यासी नेपालको वामपन्थी आन्दोलनमा लामो समय सङ्घर्ष गरेका शिक्षक हुँदै प्रदेश प्रमुखसम्मको जिम्मेवारीमा पुगेका थिए । तत्कालीन देउवा सरकारले प्रदेश १ को प्रदेश प्रमुखमा नियुक्त गरेका गोविन्दबहादुर तुम्बाहाङलाई २०७६ कात्तिकमा तत्कालीन ओली सरकारले तुम्बाहाङलाई हटाएर पदमुक्त गरेपछि प्यासी प्रदेश प्रमुख भएका थिए ।

कर्णाली प्रदेश

यस्तै कर्णाली प्रदेशमा ओली सरकारले नियुक्त गरेका प्रदेश प्रमुख​ कलौनीलाई परिवर्तन गरेर देउवा सरकारले नेकपा माओवादी केन्द्रको कोटावाट परियारलाई प्रदेश प्रमुखमा सिफारिस गरेसंगै कलौनीको प्रदेश प्रमुख पद खुस्किएको हो । तत्कालीन देउवा सरकारले कर्णाली प्रदेश प्रमुख नियुक्त गरेका दुर्गाकेशर खनाललाई हटाएर तत्कालिन ओली सरकारले कलौनीलाई नियुक्त गरेको थियो ।

तत्कालीन देउवा सरकारले प्रदेश २ को प्रमुख नियुक्त गरेका रत्नेश्वरलाल कायस्थलाई हटाएर तत्कालीन ओली सरकारले परियारलाई प्रदेश प्रमुख बनाएको थियो । तर पछि ओली सरकारले नियुक्त गरेका परियारलाई हटाएर राजेश अहिराजलाई प्रदेश प्रमुख नियुक्त गरेपछि परियार पदमुक्त भएका थिए ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशमा ओली सरकारले प्रदेश प्रमुख​ नियुक्त गरेका गंगाप्रसाद यादवलाई हटाएर देउवा सरकारले नेपाली कांग्रेसको कोटावाट देवराज जोशीलाई प्रदेश प्रमुखमा सिफारिस गरेसंगै यादवको प्रदेश प्रमुख पद खुस्किएको हो । सुदूरपश्चिममा तत्कालीन ओली सरकारले शर्मिला त्रिपाठीलाई प्रदेश प्रमुखवाट पदमुक्त गरी यादवलाई पठाएको थियो ।

सुदूरपश्चिम प्रदेश प्रमुख बनाइएका जोशी कांग्रेस बाजुराका पूर्वसभापति तथा संविधानसभा सदस्य हुन् । जोशी काँग्रेस सभापति समेत रहेका पार्टी सभापति शेरबहादुर देउवानिकट मानिन्छन् ।

केन्द्रको छाँयामा प्रदेश

देश संघीयतामा गएको ४ वर्षमै २४ जना प्रदेश प्रमुख फेरिएका छन् । संघीय सरंचनाको मेरुदण्ड मानिएको प्रदेश अहिले केन्द्रको छाँयाजस्तो बनेको छ । केन्द्रमा सरकार परिवर्तन हुने बित्तिकै प्रदेश प्रमुखको नियुक्ति र पदमुक्त गर्ने परिपाटी हावी भएको छ ।

प्रदेश प्रमुख हेरफेर गर्ने अधिकार केन्द्र सरकारसँग भएपनि कुनै कारण नभई प्रदेश प्रमुखको बर्खास्ती र नियुक्ति जारी रहेको छ । केन्द्रमा सरकार चलाउने दलसँग आबद्धता नभए प्रदेश प्रमुखको पद चट् हुने नजिर जस्तै स्थापित भएको छ ।

भाषण र चुनावी घोषणापत्रमा घरघरमा सिंहदरबारको नारा दिने प्रमुख राजनीतिक दल र तीनको नेतृत्व संघीयता कार्यान्वयनमा अनुदार देखिन्छ । भाषण र नारामा विकेन्द्रीकृत शासन प्रणाली भए पनि व्यवहारतः केन्द्रकृत मानसिकता हाबी नै छ ।

केन्द्रीकृत शासन प्रणालीका कारण जनतालाई सेवा दिन भन्दै केन्द्रको अधिकार विकेन्द्रीकरण गर्न तीन तहको सरकारको व्यवस्था गरिएर तीनै तहमा सरकार समेत भएपनि केन्द्रीकृत मानसिकता भने पुरानै छ । शक्तिको विकेन्द्रीकरण नचाहने र सत्ता र शक्ति आफैँमा केन्द्रीकृत गर्ने पुरातनवादी सोचबाट राजनीतिक नेतृत्व मुक्त हुन नसकेकोले केन्द्रको छाँयामा प्रदेश रुमलिएको छ ।

भागबण्डा र निषेधको राजनीति

यसअघि ओली प्रधानमन्त्री हुँदा भागबण्डाको राजनीति गरे भनेर चर्को आलोचना भएको थियो भने अहिले देउवाले पनि ओलीको उक्त बाटो पछ्याउँदै भागबण्डाको राजनीतिलाई नै निरन्तरता दिएका छन् । सरकार परिवर्तन भएसंगै प्रदेश प्रमुख फेरिरहने गर्दा देशमा निषेधको राजनीति हावी भएको छ ।

संघीय सरकारमा सत्ताको लागि भागबण्डा गरेर गठबन्धनमा रहेका दलले प्रदेश सरकारमा पनि सत्ताको लागि मोलमोलाई गर्न छोडेका छैनन् । सत्ता सहकार्यको उद्धेश्य जताततै बाडीचुडी आलोपालो सत्ता चलाउने रणनीति देखिन्छ ।

विगतमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सत्ताको लागि राजनीति गरेको भनेर कुरा कटुआलोचना गरेका तिनै दलका नेताहरु अहिले सत्ताको लागि लुछाचुडी गरिरहेका छन् । हेर्दा लाग्छ उनीहरु जनताको लागि होइन सत्ताको लागि मात्र राजनीति गरेजस्तो छर्लंग देखिएको छ ।

प्रदेशमा राजनीतिक भागबण्डा र आलोपालो गरेर सरकारको नेतृत्व गर्ने सहमति गर्दै सत्ता गठबन्धनका दलहरु व्यस्त छ । देशको विकास र जनताको जीवनस्तर उठाउने बारेमा सोच्ने उनीहरुलाई पटक्कै फुर्सद छैन ।

नेताप्रति जनतामा बितृष्णा

नेपालका राजनीतिक दलका अधिकांश नेताहरुमा कुनै राजनीतिक नैतिकता देखिदैन । नेपाली जनताको आँखामा छारो हानेर भ्रम सिर्जना गर्ने गरेका सवै राजनीतिक दलका नेताहरुको खोपडीमा सद्वुद्धि कहिले आउने हो ?

राजनीतिक दलका नेताहरुको व्यक्तिगत स्वार्थपूर्ति, सत्ता र शक्तिको होडबाजी गर्ने घिनलाग्दो हर्कत धेरै टिक्ने देखिदैन किनकी बागमतीमा धेरै पानी बगिसकेको छ । आम नेपाली जनता धेरै शिक्षित र सचेत भईसकेका छन् । राजनीतिक दलका सवै नेताहरुले देखाइरहेको सत्ता मोहले आम नेपाली जनता वाक्कदिक्क भई सकेका छन् ।

नेपाली राजनीतिक दलका नेताहरुमा नैतिकताको कुनै मूल्य हुँदैन । जे होस् नेपालका राजनीतिक दललाई त्यसका नेताहरुले बेइज्वत गर्दै आएका छन् भने नेताहरुप्रति जनताको बितृष्णा दिन-प्रतिदिन बढ्दो छ । प्रदेश प्रमुख फेरिनु आम जनतालाई ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’ जस्तो भएको छ ।

खोई लोकतन्त्रको प्रत्याभूति ? आखिर जनताले के पाए ?

राजतन्त्रको समाप्ति भएर मुलुक अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, राजनीतिक व्यवस्था छ । मुलुकको राज्य व्यवस्था समेत परिवर्तन भएर देशमा गणतन्त्रको स्थापना भएको छ । लोकतन्त्रमा राज्य सदैव नागरिककै हितमा केन्द्रित हुनुपर्छ । नागरिकको हित गर्नु भनेको व्यक्तिगत स्वतन्त्रताको रक्षा गर्नु हो, उनीहरू बीचको समानतालाई प्रत्याभूति दिन सबैको सम्वृद्धि हुने वातावरण बनाउनु हो र उनीहरूको स्वाभिमान सुनिश्चित गर्नु हो ।

जस्तो यहाँ देखिएको छैन । आज देश युवाको पसिनाले अर्थतन्त्र धानिएको छ । तर कहिलेसम्म चल्न सक्छ । नेपाली युवा स्वदेशमै रमाउन चाहन्छन् । सरकाले उद्योग कलकारखानातर्फ ध्यान दिएको देखिएन । परनिर्भरतामा रम्ने हामी नेपाली समाज राष्ट्रकै लागि सकस बनेको छ । भनसुन र कृपाकै भरमा काम मिलाउनुपर्ने, घरका होनहारलाई विदेशमा पठाउनुपर्ने, चाकडीबाटै स्तरोन्नति गर्नुपर्ने बाटाहरूलाई हाम्रो समाजले स्वीकार गरिरहेको छ ।

राणाकालदेखि अहिलेसम्म हामीले सरकारहरू प्रशस्तै पायौँ, सेवक प्रवृत्तिको सरकार भने कहिल्यै अनुभव गर्न पाएनौँ । लोकतन्त्र ल्याउन ज्यानै फाल्यौँ, तर राजनीतिक दलका नेताहरुले लोकतन्त्रलाई व्यवहारमै उतार्न सकेनन् ।

शक्तिमा पुग्न मरिमेटी गरौं, पुगेपछि जनताको सेवा कसरी गर्ने भन्ने चालै पाएनौँ । यसको ठोस कारण हो स्वार्थमा डुब्नु । आज लोकतन्त्र खतरामा पुग्दै गरेको महसुस हुदैछ । समयले कोल्टो फेरिसकेको छ । हिजोका युवा र आजको युवामा धेरै फरक आइसकेको छ । बलपूर्वक शाशन चलाउन खोजेपनि अब सम्भव छैन ।

जनताको शाशन जनताले नै अनुभुति हुने खालको उत्पादन र सेवामुलक देशमै काम गर्न सक्ने वातावरण मिलाउनुपर्ने समय आएको छ । अब बाँडीचुडी खाउला भन्ने सोचलाई हटाएर उद्योग कलकारखाना स्थापना गर्न र उत्पादनमुलक काममा विदेशमा होइन स्वदेशमै काम गर्न सक्ने किसिमको व्यवस्था तर्जुमा हुनुपर्छ भन्ने माग वर्तमान अवस्थाले देखाएको छ ।

गणतन्त्र स्थापना कालदेखि आजसम्म भएका काममध्ये भएका उद्योग मास्ने, युवालाई विदेशमा लखेट्ने, नयाँ उद्योगतर्फ कसैको ध्यान नभएको, भ्रष्टाचार मौलाएको, देशको विकासमा भन्दा कुर्सीको लागि मात्र लडेको देखिन्छ । यतिवेला राजनीतिक दलका नेताहरुको सत्ता र शक्तिको खिचातानीका कारण लोकतन्त्र नै धरापमा पर्न थालेको छ । खोई त लोकतन्त्रको प्रत्याभूति जनताले गर्न पाएको ? आखिर जनताले के पाए ? भन्ने अहम् प्रश्नचिन्ह राजनीतिक दलका शीर्ष नेताहरुको टाउकोतिर तेर्सिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !