११ बैशाख २०८१, मंगलबार

बाँके जिल्लामा कोरोना संक्रमणबाट ७४ जनाको मृत्यु


मृत्यु

राँझा । बाँके जिल्लामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट हालसम्म ७४ जनाको मृत्यु भएको छ । बाँके जिल्लामा बसोबास गर्ने ३६ र बाहिरी जिल्लाबाट उपचारका क्रममा आई अस्पतालमा ज्यान गुमाएका ३८ गरी ७४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृत्यु हुनेमा बाँकेका १४ महिला र २२ पुरुष रहेका छन् भने जिल्ला बाहिरबाट उपचारका क्रममा आएका १० महिला र २८ पुरुष रहेका छन् । बाँकेमा लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका सङ्क्रमित बिरामीसमेत उपचारका लागि शिक्षण अस्पताल कोहलपुर र नेपालगञ्जस्थित भेरी अस्पतालमा प्रेषण हुने गरेकाले मृतकको सङ्ख्या बढ्दो रहेको छ ।

बाँकेका विभिन्न कोरोना विशेष अस्पतालमा भर्ना भएका १०७ बिरामीमध्ये ४७ जनाको अवस्था सिकिस्त रहेको छ । भेरी अस्पताल नेपालगञ्जमा ३५ र शिक्षण अस्पताल कोहलपुरमा १२ गरी ४७ कोरोना सङ्क्रमित बिरामीको अवस्था गम्भीर रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिनुभयो ।

दुई जनाको भेन्टिलेटर, २३ जनाको आइसीयू र २२ जनाको अक्सिजनमा राखेर उपचार भइरहेको छ । बाँकेमा हालसम्म तीन हजार ६०१ जना सङ्क्रमित भएकामा तीन हजार ३१८ जनाले कोरोना पराजित गरी घर फर्किएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !