८ मंसिर २०८१, शनिबार

सालको पात बन्यो सहारा


तौलिहवा, १८ साउन । चाउरिन लागेको अनुहार, जिङ्ग्रिङ परेको कपाल, एउटा टिनको छानामुनि बस्दै आएका दुई अधवंैशे जोडी । कपिलवस्तुको वाणगङ्गा–४ का दम्पत्ती भीम माया र रुकबहादुर रेश्मीको पहिचान हो । गाउँमा पात बच्ने बाआमा भन्दै चिनिने उनीहरुको निवासमा भाँचिनै लागेको खाट, पुराना र मैला परेका बिस्तारा र ससाना भाँडाकँुडा देखिन्छ ।

वर्षात्को पानी घरभित्र राखिएको खाटमुनि आहाल परेको छ । ती दुई जोडी बिहान जङ्गलका सालका पात टिपेर गाउँगाउँमा लैजान्छन् र पात बेचेर भएको आम्दानीबाट दैनिक गुजारा चलाउँदै आएका छन् । उनीहरुको घर बाँसका कुहिन लागेका भाटा तेर्साएर त्यसमाथि च्यातिएको कपडाले बेरेको शौचालय जस्तो बास बस्ने थलोमा साँच्चीकै कष्टकर जीवन बिताउँदै आएका छन् ।

बुढ्यौली शरीर, जिउमा गतिला कपडा छैनन् । घरमा अन्नको गेडो छैन । बाँसको झिक्राले बारेको टहरो मर्मत गर्न नसक्दा छानाको ठाउँठाउँमा दुलो परेको छ । घरमा नून, तेलसहित दैनिक उपभोगका सामान किन्न समस्या छ ।

छिमेकमा कहिलेसम्म मागेर खाने दुई दिन काम नगरे पेटमा माड पस्दैन् । उमेरले भीम माया ६० र उहाँका श्रीमान्ले ७० नेटो काटिसकेका तर पनि परिश्रम गर्ने आँट र हिम्मत भने कम छैन । यो उमेरमा पनि अहिले उनीहरु जङ्गलमा गएर पात टिपेर बेच्दै आएका छन् । “मुठाको ६० पर्ने सालका पात बिक्री नहुँदा कुनै दिन त भोकै बस्छौँ”, रुकबहादुरले भन्नुभयो । चाडपर्वका बेला त सोचे जस्तै कमाइ हुन्छ, पात पनि राम्रै बिक्री हुन्छ तर कहिलेकाहीँ दुःख गरेर ल्याएका पात पनि कुहिएर जान्छन् ।

कपिलवस्तुको वाणगङ्गा नगरपालिका कार्यालयबाट तीन÷चार किलोमिटरको दूरीमा बस्दै आएका यी दम्पतीको जिउने साहारा भनेकै सालको पात हो । रुकबहादुर भन्नुहुन्छ, “बिहान बेलुका हातमुख जोर्न पनि ठेगान नभएका हामी कहिलेकाहीँ त खाना नपाएरै मर्छौं जस्तो लाग्छ ।” दिनभर जङ्गलबाट खोजेर ल्याएको पात बिक्री नहुँदा कहिले नून, भात त कहिले तातो पानी मात्रै पिएर सुत्ने गरेको उहाँ बताउनुहुन्छ । “कहिलेकाहीँ जङ्गल बन्द हुँदा आफ्नो गास नै खोसिए जस्तो लाग्छ”, भीममायाले भन्नुभयो ।

फुर्सद हुँदा गाउँ घरमा मल बोक्न जाने गरेको उहाँ बताउनुहुन्छ । शरीरमा तागत नहँुदा डोकोमा मल खेतबारीमा पु¥याउन पनि निक्कै गारो हुन्छ । बुढेसकालमा यी दम्पती नेपाली नागरिकताविहीन अवस्थामा छन् । यसका कारण पनि उनीहरु सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुनुपरेको छ । “घरमा पानी पसेर नागरिकता बगाएको छ÷सात वर्ष भयो अझैसम्म नागरिकता बनाइदिन्छौँ भन्दै कोही आएका छैनन्”, भीममायाले दुखेसो पोख्नुभयो ।

नागरिकता बनाउनका लागि धेरैसँग हारगुहार गरे पनि नागरिकता अझै बनाउन नसकेको भीममायाले दुखेसो गर्नुहुन्छ । कहिलेकाहीँ श्रीमान् श्रीमती नै बिरामी हँुदा पानी र औषधि खुवाउने कोही हँुदैन । केही दिन पहिले घरकै आँगनमा चिप्लिएर श्रीमान्को हात भाँचिदा पात टिप्न जङ्गल जान नपाउँदा उपचार खर्चसमेत जोड्न समस्या रहेको उहाँ बताउनुहुन्छ ।

वाणगङ्गा नगरपालिका–४ का वडाध्यक्ष गणेश क्षेत्रीले नागरिकताका लागि विगत एक वर्षबाट पहल भएको बताउनुभएको छ । उहाँहरुको अवस्था नाजुक भएको थाहा पाएबाटै वडाले सानोतिनो सहयोग गरिरहेको बताउँदै आगामी दिनमा उनीहरुका समस्यालाई समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !